शुक्रबार, २९ मंसिर, २०७४

नयाँ स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन

रसुवा, २ फागुन । ग्रामीण बासिन्दाको उपचारमा सहजता ल्याउन गैरसरकारी संस्थाको सहयोगमा भूकम्पपछि पुनःनिर्माण गरिएको राम्चे स्वास्थ्य चौकीबाट आजदेखि सेवा सञ्चालन भएको छ ।

हाम फाउन्डेसन नामक नेदरल्यान्डको आर्थिक सहयोग, नेदरल्यान्डकै रिच आउट टू फाउन्डेसनको संयोजनमा नेपालमा कार्यरत करुणा फाउन्डेसनले करिब रु ३८ लाखको लागतमा प्रिफ्याब मोडेलबाट सो स्वास्थ्य चौकी निर्माण गरिएको हो ।

रसुवाका सांसद छोवाङ तेन्जिङ तमाङ र दाता संस्थाका अध्यक्ष मिस्यालबाट संयुक्तरुपमा उद्घाटन भएको राम्चे स्वास्थ्य चौकीमा बिरामी परीक्षण, सुत्केरी गराउने, निर्मलीकरण र स्वास्थ्यकर्मीको समेत आवास रहेको छ ।

भूकम्प प्रतिरोधात्मक आठकोठे सो स्वास्थ्य चौकीबाट राम्चेका चार हजार ग्रामीणवासीले सेवा पाउने समाजसेवी चामसिंह तामाङले बताए ।

स्वास्थ्य मन्त्रालयबाट रसुवाका १२ वटा स्वास्थ्य संस्था निर्माण गर्ने अनुमति पाएको करुणा फाउन्डेसनले पहिलोपटक राम्चेको हस्तान्तरण गरेको र अन्य स्वास्थ्य चौकी पनि धमाधम निर्माण गरिरहेको करुणा फाउन्डेसनका कार्यक्रम संयोजक मन्दरशिखर बर्नर्जीले जानकारी दिए ।

भवनको उद्घाटन एवम् हस्तान्तरण गर्न आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठ करुणा फाउन्डेसनका अध्यक्ष गोविन्द अधिकारी, निर्देशक दीपक सापकोटा, हाम संस्थाका सदस्य हेङ्क, रिच टू संस्थाकी लिजबेथ पनि उपस्थित रहेका थिए ।

सम्बन्धित सामग्री