शनिबार, ९ मंसिर, २०७४

माओवादी एकता की कमजोर मानसिकता !

रघुनाथ बजगाँई, चैत २०७२ ।

एकले अर्कोको कार्यदिशामा सामेल हुनुपर्ने अवस्थामा पार्टी एकता हुन सक्तैैन । क्रान्तीकारी माओवादी एकीकृतमा विलय हुन नचाहने र एकिकृतले क्रान्तीकारीको कार्यदिशामा सहमती जनाउने अवस्था छैन । ब्यवस्थापिका संसदको प्रतिनिधित्व गर्दै एकीकृत माओवादी सरकारमा छ ।

नेकपा क्रान्तीकारी माओवादीको केन्द्रिय समिति बैठकमा एकिकृत माओवादीसंगको पार्टी एकताका सम्वन्धमा बिभिन्न कोणबाट छलफल केन्द्रित छ । पार्टी फुटेपछि जनवादी क्रान्ती तथा जन गणतन्त्रलाई मुख्य कार्यदिशा भन्दै आएको मोहन वैद्य नेतृत्वको क्रान्तीकारी माओवादी राजनीतिक पहुँचभन्दा बाहिरै छ । नेत्र विक्रम चन्दले अलग्गै पार्टी गठन गरेपछि उ एक प्रकारले दिशा विहीन राजनीतिक यात्रा व्यतीत गरिरहेको छ । पार्टीका प्रभावशाली नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि एकीकृत माओवादी पनि राजीनतिकि रुपमा खुम्चिएको छ । मोहन वैद्यले पार्टी फुटाउँदा पहिलोबाट तेस्रो शक्तिमा पुगेको पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीलाई बाबुरामको झड्काले निक्कै झस्काउन पुग्यो । उता क्रान्तीकरी माओवादीलाई पनि आफ्नो मिसन पुरा गर्न एक्लै नसक्ने लागेको छ । दुबैले आफु कमजोर भएको महसुस गरेसंगै एकताको विषयले दुबै पार्टी भित्र छलफल चलिरहेको छ ।
शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादी २०६९ असार ५ गते औपचारिक रुपमा विभाजन भयो । मोहन वैद्यले अलग्गै पार्टीको घोषणा गरे । उनको नेतृत्वको माओवादीले लामो समयसम्म पहिलो संविधानसभा विघटन गरी गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिइरह्यो । प्रमुख दलहरुले गोलमेच सम्मेलन गरेर तत्कालिन राजनीतिक समस्या समाधान गर्ने प्रयास गरे, तर वैद्य माओवादी भित्रै गोलमेच सम्मेलनमा सहभागी हुने÷नहुने बारे विवाद भयो । फल स्वरुप त्यो पहलले पनि सार्थकता पाउन सकेन । अन्तत सचिव नेत्रविक्रम चन्दले पार्टी विभाजन गर्दै नेकपा–माओवादी गठनको घोषणा गरे । त्यस पश्चात नै एकीकृत माओवादीसंगको एकताबारे सुरु भएको चर्चाले अझै टुङ्गो पाउन सकिरहेको छैन । बरु अब एक्लै काम गर्न सकिदैन भन्ने मानसिकताको उपजकै रुपमा दोस्रो संविधानसभा बहिस्कार गरेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र परी थापा नेतृत्वको नेकपा एकीकृतबीच वैद्य माओवादी सचिव चन्दले पार्टी फुटाएको १ वर्ष नपुग्दै पार्टी एकीकरण भयो । कार्तिक २२ गते औपचारिक रुपमा दुवै दलले पार्टी विघटनको घोषणा गरी एकीकरण पछिको नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) राखेपछिको पहल एकीकृत माओवादीसंगको एकतामा केन्द्रित छ । मालेमावादलाई निर्देशक सिद्धान्त मान्दै नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादमा जाने कार्यदिशा तय गरेको क्रान्तीकारी माओवादी भित्रको छलफल र आन्तरिक द्वद्वकाबीच शुक्रबार सम्म आईपुग्दा केन्द्रिय समिति बैठकको मुख्य एजेण्डा नै बन्न पुगेको देखिन्छ ।
सबैतिरबाट खुम्चिँदै र आफ्नै गुट मात्र बाँकी रहेको ठान्ने एकिकृत माओवादी अध्यक्ष दाहाले पनि पार्टी एकताको पहल भैरहेको र छिट्टै टुङिने अभिब्यक्ति दिँदै हिडेका छन ।
फागुन १ गतेको जनयुद्ध दिवसका अवसरमा पनि यहि ओकले “सबै माओवादीहरु मिल्नुको विकल्प छैन । छिट्टै एकताको घोषणा हुनेछ । संगै जनयुद्ध दिवस मनाउने सपना पुरा भएन तर यसले केही महिना नभएर केही हप्तामै सार्थकता पाउनेछ ।” तर दाहालले केही हप्ता बितेको पत्तै पाएनन । यसो त दाहाललाई आफैँले बेलेका कुरा समयमै पुरा नर्गर्ने भनेर टिप्पणी गर्नेहरु पनि छ । दाहाल नेतृत्वको माओवादीले पार्टी एकताका सम्वन्धमा पहल नै नगरेको होइन बरु निक्कै छट्पटाईरहेको उनकै स्ववं अभिब्यक्तिले पुष्टी गर्छ । त्यति धेरै सार्वजनिक नगरिए पनि अघिल्लो हप्ता सम्पन्न एकीकृत माओवादीको केन्द्रिय समिति बैठकको पनि मुख्य एजेण्डा पार्टी एकता नै थियो । तर क्रान्तीकारी माओवादीको कार्यदिशा र आफ्नो पार्टीको कार्यदिशामा मिलन विन्दु निस्कन नसेपछि थाँती राख्यो । एकीकृत माओवादी नेता हितराज पाण्डे दुबैले औपचारिक रुपमा पार्टीमा निर्णय लिइसकेपछि मात्रै पार्टी एकताले सार्थकता पाउने बताउँछन । “पहिले हामीले केन्द्रिय समितिबाट एक खालको मानसिकता तयार पारेका छौँ । उहाँहरु पनि केन्द्रि समितिमा छलफल गर्दैहुनुहुन्छ । के निश्कर्ष आउँछ त्यसले पार्टी एकीकरण तुरुन्तै हुन्छ की केही पर धकेलिन्छ थाँहा हुनेछ । हामी त जतिसक्दो छिटो एकता गरेर प्राप्त उपलब्धी रक्षार्थ जारी संविधानको कार्यान्वयनमा जान चाहन्छौँ । ” यसले पनि के पुष्टी गर्छ भने दुबै पार्टी तत्काल एकीकरण हुन चाहन्छन । तर आधार तय हुन सकिरहेको छैन । एकले अर्कोको कार्यदिशामा सामेल हुनुपर्ने अवस्थामा पार्टी एकता हुन सक्तैैन । क्रान्तीकारी माओवादी एकीकृतमा विलय हुन नचाहने र एकिकृतले क्रान्तीकारीको कार्यदिशामा सहमती जनाउने अवस्था छैन । ब्यवस्थापिका संसदको प्रतिनिधित्व गर्दै एकीकृत माओवादी सरकारमा छ । संसदिय ब्यवस्थालाई स्विकारेको जारी संविधान कार्यान्वयन गर्दै बाँकी क्रान्ती पुरा गर्ने सोचमा उ छ ।
क्रान्तीकारीका नेता देव गुरुङ्ले तत्कालका लागि कार्यदिशा नै गौण भए झै गरी एकताको कुरा गरिए पनि तयसले दिर्घकालमा असर गर्ने भएकाले हतारमा निर्णय लिन नहुनेमा जोड दिन्छन । उनी भन्छन “पार्टी एकीकरणमा कार्यदिशा नै मुख्य हो । चित्त नबुझ्दा फुट्न हतार र कमजोर भैयो प्रतिक्रियावादीहरुले फेरी बर्चस्व कायम गर्न खोजे भनेर जुट्न हतार गर्नुहुँदैन । एक पक्ष मिल्ने र अर्को पक्ष फेरी विभाजन हुन सक्नेतर्फ ख्याल गरिनुपर्छ । तर १० वर्ष सम्म संगै वर्गीय क्रान्तीका लागि लडेका माओवादीलाई कमजोर भएको मौका पारी द्वन्द्व कालिन घटनाहरु ब्युँताउन थालिएको छ । यसले नेत्रविक्रम चन्द देखी बाबुराम सम्मलाई जोड्न प्रेरित गरिरहेको छ ।”
उसो त माओलाई मान्नेहरु मात्र हैन नेपालमा बाम एकताका कुरा पनि उठाइएका छन । तर माओवादीहरुको विभाजनले त्यसलाई गिज्जाईरहेको छ । राजनीतिक विश्लेषक सुरेन्द्र के.सी. माओवादीहरुको एकतालाई स्वार्थी राजनीतिक खेलको रुपमा टिप्पणी गर्छन । उनी भन्छन । “यिनीहरु पार्टी फोरुवाहरु, हरुवा हुन । यिनिहरु महत्वकांक्षा नहुने वित्तिकै पार्टी फुटाउँछन । हत्तारमा निर्णय गर्छन । फुर्सदमा पछुताउँछन । अहिले केही काम छैन । यसो गरौँ यो गरौँ भन्यो बस्यो । वैद्य माओवादी भित्र रहनुको पनि अर्थ छैन । त्यही छट्पटाहट पोखिने काम भैराख्या छ ।”
जसले जे भने पनि संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान सभा मार्फत समावेशी संविधान तथा राजतन्त्रको अन्त्य माओवादी सशस्त्र आन्दोलनको बलमा प्राप्त उपलब्धीहरु हुन ।
जारी संविधानले उनीहरुले भने जस्तै एकलौटी रुपमा जनगणतन्त्र, संसदीय प्रणालीको अन्य जस्ता बिषयलाई संवोधन गर्न सकेन तर प्राप्त उपलब्धीको सही कार्यान्वयनले साँचो अर्थमा नागरिकले परिवर्तनको महसुस गर्न पाउनेछन् । यसका लागि पनि छुटेर भन्दा जुटेर गरेको राजनीतिले स्वमं पार्टी र मुलुककै हीतका लागि पनि फलदायी हुनसक्छ ।

  • raghunathbajagain@gmail.com

सम्बन्धित सामग्री