बिहीबार, २ कार्तिक, २०७४

त्रिशुलीमा सांगितिक जलयात्रा

काठमाडौँ, १७ फागुन । त्रिशुली नदीमा सांगितिक जलयात्रा (र्‍याफ्टिङ) गरिने भएको छ ।पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले माउन्टेनियरिङ्ग कल्चर एक्सपिडिसन नेपालको आयोजनामा यही फागुन २१ गते सांगितिक जलयात्रा हुन लागेको हो ।
पर्यटनका लागि संगीत भन्ने नाराका साथ हुने कार्यक्रममा धिरज राई, विजय लामा, रेखा पौडेल, ईन्सु राई, टार्जन लिम्बु, बालकुमार श्रेष्ठ र डिजे विमल लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्रिशुली नदीको फिस्लिङदेखि कुरिनटारसम्मको ३.५ किलोमिटर दुरीमा ४५ मीनेटसम्म सांगितिक जलयात्रा हुने कार्यक्रम संयोजक प्रवेश खरेलले बताउनुभयो ।
कलाकारहरुले र्‍याफ्टिङ गर्दै सांगितिक प्रस्तुती दिनेछन् । विश्वमै पहिलो पटक हुने यो कार्यक्रमपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी छ । यसको सबै प्रक्रिया पुरा भईसकेको आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाल खाद्य विकास बैंक र नेपाल एसोसिसन अफ र्‍याफ्टिङ एजेन्सीस् (नारा) ले सहयोग गरेका छन् ।
कार्यक्रममा सहभागि हुने कलाकार र दर्शकहरुको लागि पूर्णरुपमा सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै दुई सय जना मात्र दर्शकलाई सहभागि गराईने व्यवस्थापक माधवराज खरेलले जानकारी दिनुभयो । प्रतिदर्शक एकमुष्ट दुई हजार १ रुपैयाँ लिइनेछ । दर्शकलाई आउने जाने, खाना र खाजाको व्यवस्था गरिएको खरेलले बताउनुभयो । कार्यक्रम संचालनका लागि सात लाख तीस हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री