शुक्रबार, २९ मंसिर, २०७४

जिसस, नगर सभा र गाउँ सभाको चटारो

निरोज कुमार थापा

रामेछाप । जिल्लामा क्रियाशिल राजनीतिक दलहरु यतिबेला जिल्ला समन्वय समिती, नगर सभा र गाउँ सभा बनाउने रस्साकस्सिमा लागेका छन । चुनावी माहोल सेलाई सकेपनि हालको संरचना अनुसारको स्थानीय सरकार निर्माणको तयारीका लागि दलहरु भने आफू केन्द्रित बहुमत पुर्याउन दौडधूपमा लागेका हुन ।

जिल्लाका ८ स्थानीय तह मध्ये मन्थली नगरपालीका, लिखु गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगङ्गा गाउँपालीका र खाँडादेवी गाउँपालीका गरी ५ स्थानीय तहमा विजयी भएको नेकपा एमाले एकलौटी जिल्ला समन्वय समिती बनाउने तयारीमा देखिएको छ । दोरम्बा गाउँपालीका र सुनापति गाउँपालीका जितेको नेकपा माओवादी केन्द्र र रामेछाप नगरपालीका मात्रै जितेको नेपाली काङ्ग्रेस भने चुनावमा जस्तै तालमेल गरी गाउँसभा र नगरसभामा बहुमत पुर्याउन जुटिरहेका छन ।

जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालीकामा नगर सभा बनाउने कुरा चुनौतिपूर्ण देखिएको छ । नगरभित्रका वडाहरुमा विजयी भएको आधारमा नेकपा एमालेको ३०, नेकपा माओवादी केन्द्रको २३, नेपाली काङ्ग्रेसको १८ र राप्रापाको १ जना सदस्य रहेका छन । नगरसभामा बहुमत पु¥याउन दलहरु आन्तरीक छलफलमा जुटेका छन ।

रामेछाप नगरसभामा पनि ३ राजनीतिक पार्टीहरुको एकलौटी बहुमत नपुग्ने भएपछि दुई राजनीतिक दलहरुबीच तालमेल हुने निश्चित भएको छ । तर अहिलेसम्म कुन कुन पार्टीहरुबीच तालमेल हुने भन्ने यकिन भई सकेको छैन तर तीनै दलले एक–अर्काे दलसँग छलफल अगाडि बढाएका छन ।

लिखु गाउँपालीकामा भने ३७ मध्ये ३५ सिट जितेको नेकपा एमालेले एकलौटी गाउँसभा बनाउने भएको छ । खाँडादेवी गाउँपालीका र गोकुलगंगा गाउँपालीकामा पनि एमालेले एकलौटी गाउँसभा बनाउने तयारी थालेको छ । सुनापति गाउँपालीकाको सबै सिट जितेको नेकपा माओवादी केन्द्रले पनि एकलौटी गाउँसभा बनाउने निश्चित जस्तै भएको छ । गाउँपालीकाको अध्यक्ष एमालेले जितेको उमाकुण्ड गाउँपालीकामा भने कुनै दलको एकलौटी बहुमत नपुग्ने भएपछि दुई दलबीच तालमेल गर्नुपर्ने भएको छ ।

त्यसैगरी दोरम्बा गाउँपालीकामा पनि एकलौटी गाउँसभा बनाउन कुनै दलको बहुमत नपुग्ने भएपछि त्यहाँ पनि तालमेल नै गर्नुपर्ने भएको छ ।

सम्बन्धित सामग्री