बिहीबार, २ कार्तिक, २०७४

भेडीखर्के साईंलाको निधन, जनताले चिने तर राज्यले चिनेन

बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको निधन भएको छ ।

 

नागरिक स्तरबाट ठाडो भाका सम्राट÷शिरोमणी उपाधी पाएका अधिकारीको ८४ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । अधिकारी केहीदिन देखि सिकिस्त बिरामी परेका थिए ।

लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुनः लमजुङ फर्काइएको थियो ।

उनको सुन्दरबजारस्थित जेठीछोरी र ज्वाईंको घरमा निधन भएको हो । ज्वाईं सम्सेर लौडारीका अनुसार अधिकारीले आइतबारदेखि पानी समेत खान छाडेका थिए ।

घरमा हेरचाह नहुँदा सुन्दरबजार नगरपालिका–२, परेवाडाँडा घर भएका उनी तीन बर्षयता सुन्दरबजार नगरपालिका–६, अर्चलेटोलमा रहेकी जेठी छोरीको घरमा बस्दै आएका थिए ।

भेडीखर्केका १ छोरा र ३ छोरी छन् । उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

सरकारले हेरेन

सहयात्री देवीबहादुर गुरुङका अनुसार नागरिकले सम्मान गरेपनि भेडीखर्केलाई सरकारले सम्मान गरेको छैन ।

सरकारले सम्मान नगरेपनि उपचार गराईदिए हुन्थ्यो भन्ने धेरैको चाहना भएपनि त्यो पुरा नहुँदै अधिकारी विदा भएका छन् ।

‘नेताको उपचारका लागि करोडौँ पैसा खर्च गर्ने तर कलाकारलाई बचाउन कुनै कदम नचाल्ने सरकारको हेलचक्रार्इँले राम्रो कलाकार बचाउन सकिएन,’गुरुङले भने ।

ठाडोभाका जोगाउने पीर

गीत गाउन माइक्रोफोन समात्ना साथ भेडिखर्के साईँलाले भन्ने गर्थेे, ‘म मरेपनि ठाडोभाका नमरोस् ।’ तर, ठाडो भाका गाउने राम्रो उत्तराधिकारी तयार नहुँदै अधिकारी विदा भएका छन् ।

ठाडोभाका गाउन र सिक्न कठिन भएकाले जो कोही कलाकारले सिक्न सकेका छैनन् ।

ठाडो भाका सिक्न अफ्टेरो छ । जो कसैको जनजिब्रोमा झट्ट झुण्डिदैन । उनको विँडो थाप्ने नयाँ ब्यक्ति हालसम्म कोही आएका छैनन् ।

यसरी सुरु भयो भाका

यो भाका दुराडाँडाको ठुलोस्वाँराबाट देउबहादुर दुराले गाउन सुरु गरेका हुन् । उनको विँडो थामे भेडीखर्केले । १२ बर्षको उमेर देखिनै उनले यो भाका गाउन थालेका हुन् ।

भाका सम्बन्धी उनको कुनै लेखोट थिएन । तर गीत गाउन खालमा बसेपछि धाराबाहिक गाउँथे ।

लमजुङको सिँदुरेढुुङ्गामा वि.सं.१९९० मा जन्मिएका उनलाई बास्तविक नाम दीर्गराज अधिकारी भएपनि उनलाई यो नामले कसैले पनि चिन्दैनन् । सिँदुरेमा उनको बुवाको भेडीगोठ थियो ।

उनको बुवालाइ स्थानियले भेडिखर्के भन्थे । उनको सांहिलो छोरा भएकाले उनको नाम भेडीखर्के साँहिला रहन गयो ।

पहिला देउबहादुरले यो भाका प्रचलनमा ल्याए । केटा-केटा मिलेर गीत गाउँथे पहिले । केटा केटा गाउँदा रौनक नआएपछि उनले केटीलाई पनि सिकाए ।

नेटा हाँडीगाउँकी महारानी ठाडो भाका सिक्ने पहिलो महिला बनिन् । यसले गीतमा रौनक आयो र देउबहादुर र महारानीको जोडी धेरै समयसम्म टिक्यो । उनीहरुको जोडी पछि भेडीखर्केले गाउन थालेका हुन् ।

गाउन सक्ने सबै थला परेपछि पछिल्लो समय तनहुँ बन्दिपुरको उत्तम गुरुङसँग गाउँदै आएका थिए । आफ्नो जीवनको स्मरण गर्दै भेडिखर्केले भन्ने गर्थे, ‘हाम्रो पालामा विद्यालय थिएनन् । उमेर नपुगिन्जेल सम्म गोठाले जानुपथ्र्यो ।

गोठालो र मेलापात जाँदा यो भाका गाइन्थ्यो । मैले पनि त्यही बेला सिकेको हो । राम्रा गला भएकाहरु मेला सकिएपछि रोधी बस्न थाले । गुरुङ संस्कृतिमा रोधी बस्ने चलन थियो त्यसबेला । सोही संस्कृतिमा भेडिखर्के रमाउन थाले ।

त्यसबेला बाउन जाती रोधीघरमा जान हुँदैन्थ्यो । घरमा आमाबाबुको आँखा छलेर रोधीघर जान थाले भेडीखर्के । रोधीमा ठाडो भाकाले निकै चर्चा पायो ।

विस २०२४ सालमा बुवाआमा मृत्यु भएपछि बल्ल दिल खोले गीत गाए भेडीखर्केले । यसबेला उनी ३५ बर्षको थिए ।

दक्षप्रजापति, सतिदेवी अग्नीकुण्डमा हामफालेका कथाहरु ठाडोभाकामा ढाल्न सक्ने उनी मात्रै भए । यसले उनको माग बढ्यो । उनले यो भाका गोरखा, तनहुँ, स्यांङ्जा र कास्की सम्म फैलाए ।

वि.सं २०३५ साल देखि यो भाका रेकर्ड गराउन रेडियो नेपाल देखि विभिन्न स्टुडियोमा चाहारेपनि सोर्सफोर्स नपुग्दा भाका रेकर्ड हुन सकेन ।

०५३ सालमा अल्ट्रासाउण्ड प्रालिले मेरो सेरोफेरो एल्बममा ठाडोभाका निकालेको थियो ।

त्यसपछि रेडयो अन्नपूर्णका आरजु विष्ट सल्यानीले भेडिखर्केसँग रेकर्ड गराएर ठाडो भाकाको एल्बम निकालेका थिए ।

bhadikharke4

-इमेजखबरबाट

सम्बन्धित सामग्री