शनिबार, ९ मंसिर, २०७४

महिनावारी हुँदा आमाको किरिया गरेँ : राधा पौडेल

राधा पौडेल । यो नामका पछाडि परिचय धेरै लुकेका छन् । पेसाले नर्स उनी सामाजिक अभियन्ता र साहित्यकार पनि हुन् । ०७१ मा ‘खलंगामा हमला’का लागि उनले मदन पुरस्कार पनि पाइन् । सामाजिक अभियन्ताका रूपमा देशको कर्णालीदेखि राजधानीको कर्णालीसम्म चहार्दा उनले महिलाका विभिन्न व्यथा भेटिन् । अहिले राधा महिलाहरूको प्राकृतिक प्रक्रिया महिनावारीको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरबाट पिएचडी गर्दै छिन् । राधाले भोगेको/देखेको ‘महिला पीडा’ नयाँ पत्रिकाकी सरला कट्टेललाई सुनाएकी छिन् :
बाल्यकालमै मनमा गड्यो महिनावारीको पीडा
म आफ्नै भोगाइबाट विषय प्रवेश गर्न चाहन्छु । जतिवेला म सात वर्षकी थिएँ, मेरी आमाको पिँडौलामा आलो रगत बगिरहेको देखेँ । म अत्तालिएँ । आमासँग जिज्ञासा राखेँ । आमाले छोटो जवाफ फर्काउनुभयो, ‘भगवान्ले यस्तो गराउनुभएको हो । तिमीले पनि भोलि यस्तै भोग्नुपर्छ ।’ कलिलो दिमागमा त्यो गड्यो । उहाँले त्यतिखेर बोलेको अभिव्यक्ति अहिले पनि मुटुमा बिझिरहेको छ ।म केही ठूलो भएपछि घरभित्रै अर्को दृश्य देखेँ । मभन्दा दिदीहरू उमेरले ठूला थिए । म जन्मिएको चितवनमा, बाल्यकाल त्यहीँ बित्यो । महिनावारी हुँदा दिदीहरूलाई गाईगोठमा राखियो । हालको भरतपुर महानगरपालिकामा पर्ने प्रेमबस्तीमा ४० सालतिर यस्तो अवस्था थियो । अहिले हामी कर्णालीमा छाउपडीको जुन अवस्था देख्छौँ, त्यतिखेर मैले आफ्नै घरमा देखेँ ।दिदीहरूको त्यो पीडाले मलाई घोच्थ्यो । त्यसैले धारणा बनाइसकेको थिएँ, महिनावारी हुँदा मचाहिँ गोठमा बस्दिनँ । त्यसैले १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा घर छाडेर भागेँ । म दिदीको घरमा पुगेँ ।

छोरी भएर जन्मिनुमा यातना महसुस हुन्थ्यो
हरेक पल मरेर बाँचेँ । छोरी भएर बाँच्नु नै छैन, कसरी मर्ने भन्ने मात्रै दिमागमा आइरह्यो । छोरा भएर जन्मिन पाएको भए भन्ने सोच आइरहन्थ्यो । बाबुआमाले पनि छोराकै आश गर्नुभएको रे, तर छोरीहरूको लाइनमा फेरि छोरी नै भएर जन्मिएछु । त्यसैले त मेरो जन्ममिति पनि ठ्याक्कै थाहा छैन । छोराको आश गर्दा छोरी जन्मिएकाले वेवास्ता भएको रे । नागरिकतामा चाहिँ २०३० साल पुस राखेको छु ।

मनमा यस्ता विषय खेल्दाखेल्दै म धेरै तनावमा फसेछु । मर्न भनेर घर नै छाडेर हिँडेँ । तर, कसरी मर्ने भन्ने थाहा थिएन । दिउँसो घरबाट भागेँ, बेलुकी मकै बारीमा आएर लुकेँ । साँझ आमाले राधा–राधा भनेर बोलाउँदा पनि नबोली लुकिरहेँ । तर, एक छिनपछि आमाको यादले निकै भावुक भएँ । तर, पनि घर जाने आँट आएन । घरमा पालेको कुकुर ‘लक्ष्य’लाई बोलाएर उसैको साथ लागेर घर गएँ।
७ वर्षको उमेरदेखि स्टाफ नर्स पढ्दासम्म मलाई मर्न मन लागिरहन्थ्यो । छोरी भएर जन्मेपछि यो समाजमा कुनै काम छैन भन्ने लागिरहन्थ्यो । घर र समाज कतै पनि छोरीको महत्व नै पहिल्याउन सकिनँ ।

त्यो एउटा क्लासले छोरी हुनुमा गर्व
०४६ मा प्रेमबस्ती माविबाट एसएलसी पास गरेपछि पोखराको नर्सिङ क्याम्पसमा भर्ना भएँ । स्टाफ नर्स पढ्दै जाँदा महिनावारी कसरी हुन्छ भन्ने कक्षा लिएको दिन आफूलाई भाग्यमानी सम्झेँ । कक्षामै मलाई आमाबाबुदेखि रिस उठ्यो । तर, तत्काल सोचेँ, समाजले बसाएको संस्कार, बाबुआमासँग किन रिसाउने ? त्यो दिनदेखि मलाई छोरी हुनुमा पश्चाताप भएन । बरु आत्मबल जाग्यो ।

त्यो वेलादेखि आजसम्म महिनावारी बार्न परेको छैन । महिनावारी हुनु त महिलाको ठूलो शक्ति रहेछ । योविना त सृष्टि नै अगाडि नबढ्ने रहेछ । तैपनि समाजमा किन यसबारे नकारात्मक मान्यता बसाइएको होला भन्ने लाग्यो । त्यसपछि बिदामा घरमा आउँदा पाठेघरको चित्र बनाएर बाबुआमालाई पढाएँ । उहाँहरू यथार्थ बुझेर दंग पर्नुभयो ।

सरकारी जागिर छाडेर जुम्लामा
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट बिएससी नर्सिङ सकेपछि एनेस्थेटिक असिस्टेन्टको रूपमा भरतपुर अस्पतलामा काम गर्दै थिएँ । महिलाहरूमाथि हुने गरेको सामाजिक विभेद देख्दा मन पोलिरहन्थ्यो । अस्पतालमा बसेर महिनावारीका विषयमा कुरा उठाउन सकिँदैन भनेर जागिर छाड्ने निर्णय गरेँ । घरमा कसैलाई थाहा नदिई जागिर छाडेर जुम्ला गएँ ।

मैले सानोमा बाबुसँग मीठो खान पाइनँ र राम्रो लगाउन पाइनँ भन्दा उहाँले जुम्लाको नाम लिँदै भन्नुहुन्थ्यो, ‘तिमी त भाग्यमानी हौ, पढ्न पाएकी छौ छोरी, जुम्लामा कत्रो गरिबी छ । बरु तिमीले पढेर त्यहाँको लागि केही गर्नू ।’ बाबुको त्यो अभिव्यक्तिले घोचेर नै मैले जुम्ला रोजेको थिएँ ।

म जुम्ला जाँदा द्वन्द्वकाल चलिरहेको थियो । त्यहाँ पुगेपछि गरिबी देखेर रात–दिन पिरोल्न थाल्यो । त्यहाँ म एक्लोजस्तै भएँ । कसैले कसैलाई वास्ता नगर्ने । सुरु–सुरुमा लाग्थ्यो, यहाँ मैले केही गर्न सक्दिनँ ।

पछि बिस्तारै–बिस्तारै महिनावारीको विषयमा गाउँ–गाउँमा अनुभव साट्न थालेँ । आफ्ना अनुभव इन्टरनेटमा राख्न थालेँ । केहीपछि काम गर्न सहज बन्दै गयो । जब मान्छेहरू हेप्न थाल्थे तब विदेशमा विभिन्न तालिममा आवेदन दिन्थेँ र तालिम लिन जान्थेँ ।

सहरमै छ छाउपडी
बिएससी नर्सिङको थेसिस गर्दा महिनावारीसम्बन्धी नै ‘शीर्षक’ मिल्यो । त्यही क्रममा काठमाडौंको गोकर्ण गाउँमा गएँ । त्यहाँ एउटा परिवारका आमा, छोरी र बुहारीले महिनावारी हुँदा एउटै टालो प्रयोग गरेको भेटेँ । महिनावारी भएका वेला चर्पी पनि प्रयोग गर्न नपाइने रहेछ, त्यहाँ । त्यसपछि मैले सोचेँ, गाउँमा मात्रै होइन, राजधानीमै छाउपडी रहेछ ।

सायद, अहिलेका प्रधानमन्त्री पनि छाउगोठमै जन्मे होला । सभामुख पनि पश्चिमकै हुन्, उनी पनि छाउगोठमै जन्मिन् होला । देशको राष्ट्रपति महिला छिन्, तर पनि महिला अझै पनि छाउगोठमै मर्नुपर्ने अवस्था छ ।

आमाको मृत्युमा भाइ हुँदाहुँदै म आफैँले दागबत्ती दिएँ । आमाको १३ दिनको काम गर्दा पनि बहिनी र म महिनावारी भएको थियौँ । तर, यो अवस्थामै हामीले आमाको किरिया गर्‍यौँ । हामी तीनैजना एकै ठाउँमा बसेर काम सम्पन्न गर्‍यौं ।

हामीले महिला नेतृत्व खोज्नुको मुख्य कारण महिलाको फरक आवश्यकता छ, फरक चाहना छ भनेर हो । पुरुषले महिलाको आवश्यकता पूरा गर्न सक्दैनन् भनेर नै महिला नेतृत्व खोजेका हाैँ । गत असारमा दैलेखमा दुईजना बालिकाको छाउगोठमै मृत्यु भयो, तर कोही यो विषयमा बोलेन ।

सरकारले छाउगोठ त भत्कायो, तर मनभित्रको छाउगोठ भत्काएको छैन । महिनावारी भनेको के हो र कसरी हुन्छ भन्ने कुरा बुझाउन सकियो भने यो समस्याको समाधान हुन्छ । हामीले यो कुरा त्यहाँका धामी–झाँक्री र राजनीतिकर्मीलाई सिकाउनुपर्छ । ती क्षेत्रमा काम गरेको भन्ने एनजिओ, आइएनजिओले अहिलेसम्म पनि यस्ता काम गरेका छैनन् ।

मनबाटै तोडेँ कतिपय कुरीति
महिनावारी हुँदा यसो गरे पाप लाग्छ भन्दै समाजमा कयौँ कुरीति फिँजाइएको छ । मान्छेहरू भ्रममा छन् र कुरीति तोड्न सक्दैनन् । तर, मैले तोडेकोमध्ये एउटा कुरीति हो, महिनावारीका वेला आमाको किरिया गर्नु ।

१० वर्षअघि आमा बित्नुभयो । हामी पाँचजना दिदी–बहिनी र एउटा भाइ हो । आमाको मृत्युमा भाइ हुँदाहुँदै म आफँैले दागबत्ती दिएँ । आमाको १३ दिनको काम गर्दा पनि बहिनी र म महिनावारी भएको थियौँ । तर, यो अवस्थामै हामीले आमाको किरिया ग¥यौँ । हामी तीनैजना एकै ठाउँमा बसेर काम सम्पन्न गर्‍र्यौं ।

कर्णालीको आवाज काठमाडौंमा सुनाएँ
०१७ तिर अञ्चलाधीशको भान्से भएर बाबु जुम्ला पुगेका वेला त्यहाँको गरिबीले बुवाको मन अत्यन्तै पोलेको रहेछ । त्यसैले ठूली भएपछि जुम्ला गएर सेवा गर्नू भन्नुभएको थियो ।

त्यो द्वन्द्वको समय थियो । २८ कात्तिक ०५९ को रात जुम्ला सदरमुकाम खलंगामा ठूलो आक्रमण थियो । रातभर बम र गोलीको वर्षा भयो । ३ घण्टाअघि सँगै मिटिङमा बसेका सिडिओ र डिएसपीको मृत्यु भयो ।

दुईतिरबाट आक्रमण भइरहेको थियो । राति आफ्नो कोठाबाट भागेर अर्को कोठामा गएर बाँचे । बिहान उठेर हेर्दा आफूसँगै बसेका साथीको लास पनि भेटिएन । डढेको काठको ठूटोजस्तोलाई ‘डिएसपीको लास यही हो’ भनेर दाहसंस्कार गरियो । त्यो निकै नमज्जाको पल थियो । त्यो देख्दा म बेहोस नै भएछु । मेरो मनमा माओवादीप्रति प्रश्न उठे । यिनीहरूले बन्दुक किन समाते ?

कर्णालीका गरिब जनताले केका लागि बन्दुक समातेर आफ्नै दाजुभाइ मारे ? यिनीहरूको शान्तिको परिभाषा के हो ? मैले त्यो भोगाइपछि त्यसलाई किताबका रूपमा उतार्ने निर्णय गरेँ ।

केही समयमै खलंगामा हमला (एउटी नर्सको डायरी) किताब लेखेँ । तीन दिनमा लेखेको हुँ । लेखेको १२ वर्षपछि प्रकाशनमा आयो । ०७० मा सार्वजनिक भएको किताबले ०७१ मा मदन पुरस्कार प्राप्त गर्‍यो । महिनावारीसम्बन्धी अर्को पुस्तक ल्याउने तयारीमा छु ।

आफ्नो कृतिले मदन पुस्कार पाउँदा…
भृकुटीमण्डपमा पुस्तक मेला लागेको थियो । जुम्ला जाने तयारीमा थिएँ । भाइलाई मेरो पुस्तकले मदन पुरस्कार प्राप्त गरेको जानकारी आएछ । त्यसपछि उसले मलाई फोन गर्‍यो । मैले सोचेकै थिइनँ, मेरो पुस्तकले मदन पुरस्कार पाउँछ भनेर । मदन पुरस्कार पाएको पक्का भएपछि कर्णालीको आवाज काठमाडौंले सुन्यो भन्ने लाग्यो । आर्मीले सुराकी भनेर दुःख दिए, बन्दुक तेस्र्याए, मार्छु भने । माओवादी, गाउँले सबैको तारो बनेर काम गरेँ । जे होस्, मेरो मिहिनेत खेर गएन ।

२४ घण्टामा मार्छु भन्ने चिठी आयो
जुम्लामा २४ घण्टाभित्र मारिदिन्छु भनेर चिठी आयो । कर्णलीमा काम गर्दा केटाहरूले मार्छु भनेर घेरे । चरित्रहत्या गर्ने काम गरे । अहिले पनि म एक्लो बाँचेको छु । सबै कुराले म मरेको छु । अनुहार नराम्रो, बिहे नगरेको, होची भनेर मैले धैरै अवसर गुमाएकी छु ।

म मर्न हिँडेको मान्छे अहिले ‘बोनस लाइफ’ बाँचिरहेकी छु । म एउटी छोरी जोगाउन हिँडेकी मान्छे हुँ । एउटा छोरी जोगाउँदा अरू छोरीलाई पनि जोगाइरहेकी छु । मैले भोगेकोजस्तो दुःख अरू छोरीले भोग्न नपरोस् भन्ने लाग्छ । काठमाडौँमा बसेर, अधिकारको कुरा गरेर, कर्लाणीको मान्छेले सुन्दैन । त्यसैले अरूले गर्दैनन्, मैले केही गर्नुपर्छ भनेर हिँडेकी छु ।
राधा पौडेल, नर्स/लेखिका/सामाजिक अभियन्ता हुन् । – नयाँ पत्रिकाबाट साभार गरिएकाे ।

सम्बन्धित सामग्री