मंगलबार, १० असोज, २०७४

नेपाल-भारत मैत्रीका खास आधार

ध्रुबबहादुर प्रधान /

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि नेपाल-भारत साझेदारी तथा भारतीय सहयोगका विभिन्न परियोजनालाई गति दिने विषयलाई लिएर उत्साहदायी ‘इनगेजमेन्ट’ सुरु भएको छ । पञ्चेश्वर परियोजनाका विषयमा द्विपक्षीय संयन्त्रगत बैठक सुरु भएका छन् । तर यो प्रक्रियाले परियोजनालाई द्विपक्षीय समझदारीअनुसार सम्पन्न गर्न खातिर प्रगतिकै रूप लिन भने अझै समय कुर्नुपर्ला । किनकि भारतीय सरकार वा कम्पनीहरूको संलग्नता रहेका परियोजना नेपालमा सकरात्मक छवि बनाउने सवालमा धेरै हिसाबले परीक्षित हुनुपर्ने कारण छन् । यो छवि सुधार्नु भारतकै लागि बढी आवश्यक छ ।

 नेपाल-भारत मैत्रीका खास आधार

ध्रुबबहादुर प्रधान

भारत यतिबेला भूगोल, जनसांख्यिक सामथ्र्य, गतिवान् अर्थबजार, भूराजनीतिक महत्वव र क्रियाशील प्रजातान्त्रिक शासन व्यवस्थाका माध्यमबाट ठूलो विश्वशक्तिमा दरिन आतुर छ । त्यो हैसियतमा स्थापित हुने सबैभन्दा आधारशिला क्षेत्रीय भूराजनीति हो । जसरी युरोजोनका मुलुक सबैतिरको एक तहको सम्पन्नतापछि आपसी शक्ति तथा अर्थ सन्तुलनलाई व्यवस्थापन गर्न सक्षम भएका छन्, त्यो उनीहरूको कुनै अलौकिक जादु होइन ।

त्यो मात्रै व्यावहारिक समझदारी हो, जसका कारण युरोप अहिले ब्रेक्जिटपछि समेत एउटा स्पष्ट ‘प्याट्रन’ मा अगाडि बढिरहेको छ । यहाँ प्रसंग उठ्छ- यही चिज हाम्रो दक्षिण एसियामा किन सम्भव छैन र त्यसको सिर्जनात्मक नेतृत्व भारतले किन लिन सक्दैन ? के भारत सधैं छिमेकीको मामिलामा छुस्की लगाएर बसिरहने र आफैं पनि विकासका उत्कट मोडेलमा छिर्न नसक्ने अप्ठेरो चरित्रको मुलुकमा सीमित हुन चाहन्छ त ? भारत ठूलो खुबीको मुलुक भएर पनि चित्त सानो गरेर बसेको छ भन्ने टिप्पणीलाई त्यसै पन्छाउन नमिल्ने स्थिति त्यसै आएको होइन ।

भारतले विश्वमञ्चमा केकस्तो छवि बनाउँदै जान्छ भन्ने आकलन उसको नेपालसँगको सम्बन्धका आधारमा समेत गर्न सकिन्छ । वास्तवमा नेपाल र भारत एकले अर्कालाई हित नगरिनहुने र आपसी हितप्रतिको इमानदारीबाट दुवै पक्ष प्रगतिको भर्‍याङ चढ्ने चरित्रका छिमेकी हुन् । हिमालय पर्वतको अपार जलराशि र ऊर्जा, उद्योगजन्य प्राकृतिक स्रोत, रापिलो दक्षिणबाट ठण्डा उत्तरतर्फको पर्यटन र विकट उत्तरले सुगम दक्षिणमा पाउने बजारले एकातर्फ दुवै देशको समृद्धि प्रत्याभूत गर्न सक्छ भने अर्कोतर्फ समान धर्म, संस्कृति र सामाजिक आदानप्रदानको इतिहास एवं व्यवहारका कारण कुनै पनि बेला एकले अर्कालाई भर गर्ने सुविधा रहन्छ । यति सुन्दर सम्बन्धलाई न भारतले हेयको नजरले हेर्नु बुद्धिमानी हुन्छ न नेपालले नै सधैं आशामुखी सोचबाट त्यसलाई अथ्र्याउनु श्रेयस्कर हुन्छ ।

समृद्धि आफ्नो भूगोलमा मात्र खोज्दा त्यसको लागि छिमेकलाई बलि चढाउन खोज्दा प्रत्युत्पादक अवस्था आउने धुर्वसत्य हो ।

अहिलेको अवस्थामा नेपाल-भारत मैत्रीलाई साँच्चै बलियो पार्ने माध्यम चालू परियोजना नै हुन् । ती परियोजना इच्छित, यथोचित ढंगले सम्पन्न हुँदा नेपाली आममानसमा भारतप्रति रहेको शंकाउपशंका, नियतसम्बन्धी प्रश्नको सम्बोधन हुने देखिन्छ । यति निकट, यति धेरै लगानीका सरोकारवाला मुलुक यति ससाना शंकामा रुमलिनु किञ्चित सुहाउँदो होइन । शंका गर्ने ठाउँ दिएकै कारण तदनुरूपकै कतिपय व्यवहारले यस्तो मेलभित्रको बेमेल जन्मेको हो । नभए नेपालीले झन्डै पौने वर्ष अनाहकमा नाकाबन्दी बेहार्नुपर्ने थिएन, जसलाई कहिल्यै पनि कसैले पनि ‘जस्टिफाइ’ गर्न सक्ने छैन ।

चालू परियोजनालाई टुंगोमा पुर्‍याएसँगै नेपाल-भारत सहयोग तथा सहवृद्धिको सम्बन्धलाई नयाँ उचाइमा लैजाने मार्ग खुल्छ । नेपालको समृद्धि भारतको समृद्धिको लागि अपरिहार्य छ । समृृद्धिको अवस्थामा मात्रै नेपालले भारतका सुरक्षा सरोकारलाई सही ढंगमा सम्बोधन गर्न सक्छ । भारत मात्र नभएर अर्को छिमेकी चीनले पनि नेपालसँग निरन्तर सुरक्षाकै सरोकार राखेको पाइन्छ । समृद्ध भविष्यको लागि बाँकी विश्वसँग विभिन्न कोणबाट ‘नेगोसिएसन’ गरिरहेका दक्षिण एसियाका मुलुकमा आपसी सुरक्षाकै बढी चिन्ता छ । गरिबीको पृष्ठभूमिले त्यसै पनि यो क्षेत्रलाई अँचेटेको छ । साथै पहिचान र धर्मका विषयले विस्तारै आतंकवादको आगो पनि सल्किँदो छ । यसर्थमा आमस्तरमा समृद्धिका फल बाँडिने अवस्था प्रत्याभूत नभएसम्म यो क्षेत्र शान्त र स्थिर नहुने पक्का छ ।

समृद्धि आफ्नो भूगोलमा मात्र खोज्दा त्यसको लागि छिमेकलाई बलि चढाउन खोज्दा प्रत्युत्पादक अवस्था आउने धु्रवसत्य हो । सर्वजन हितायः को सिद्धान्त एउटा सानो समुदायको लागि मात्र लागू हुँदैन । अरूको हितबारे जो व्यक्ति बढी सोच्न सक्छ, ऊ नै अन्ततः प्रियकर र त्यागी कहलाउँछ । आज विश्वका मुलुकबीच स्रोत र व्यापारमाथिको लडाइँ चर्कंदो छ । यसैकारण विश्व महाशक्तिहरू आफ्नो भौगोलिक घेराभन्दा बाहिरका विभिन्न ठाउँमा लडाइँ लड्नमै व्यस्त छन् । बाहिरबाट हेर्दा उनीहरूको भूगोल सुरक्षित देखिन्छ, तर त्यस्तो सुरक्षा टिकाउ हुँदैन । दक्षिण एसियाली सन्दर्भमा पनि यो परिदृश्यबाट सबैले पाठ सिक्नुपर्छ ।

हामी फेरि नेपाली सन्दर्भमै आऊँ । निरन्तरको भारी वर्षाका कारण नेपालीले बाढीपहिरोको चपेटा बेहोर्नुपर्‍यो । तराई क्षेत्र बाढीको डुबानमा परी तवाई मच्चियो । अझै हप्तौंसम्म बाढीपीडितहरूको पुनस्र्थापना हुने देखिँदैन । बाढीपीडितहरू तिनै हुन्, जो भौगोलिक निकटता, सांस्कृतिक अनि सामाजिक सम्बन्धका कारण भारतप्रति श्रद्धाशील छन् । तर उनीहरूले सँगसँगै के पनि महसुस गर्नुपरेको छ भने भारतले सीमा क्षेत्रमा ठूलाठूला बाँध बाँधेका कारण जमिनको सतहभन्दा धेरै माथि पुर्‍याई हाइवे बनाएका कारण डुबान हुन गयो ।

भारतले आफ्ना जनताका लागि मात्र भनेर सोच्दा भारतलाई नेपालपछिको घर ठान्ने नेपालीहरूबाट सधैं श्रद्धा भइरहने कुरा ठेगान रहँदैन । फेरि बर्खा आउँछ, फेरि डुबान हुन्छ । नेपालीको मन कुँडिन्छ । कहींका पनि नेपालीले बाध्यताका कारण भारतलाई मान्नुपर्ने स्थिति ठीक होइन । सहकार्य, सहचार्य र सहवृद्धिको बाटोबाट मात्र नेपालीले भारतलाई सर्वोच्च सम्मान दिइरहने कुरा सम्भव छ । -अन्नपुर्णपाेष्टबाट साभार गरिएकाे ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी