शुक्रबार, २९ मंसिर, २०७४

अब ‘विकल्प’ छ

पिउ रिसर्च सेन्टरका अनुसार, ८७ प्रतिशत चिनियाँ आफ्नो देशको हालको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् भने ८३ प्रतिशत भारतीय पनि आफ्नो देशको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् । त्यस्तै, ८२ प्रतिशत चिनियाँ अनि ७६ प्रतिशत भारतीय आफ्नो सन्ततिले आफ्नोभन्दा राम्रो अवस्थामा बाँच्न पाउनेमा सकारात्मक रहेका छन् । यदि यही सर्वेक्षण नेपालमा गर्ने हो भने हालको परिस्थितिमा नतिजा के आउँथ्यो होला ?

नेपालमा गरिएका विभिन्न सर्वेक्षणलाई आधार मान्दा नेपालमा करिब ५.६ प्रतिशत मात्रै नागरिक राजनीतिमा प्रत्यक्ष आबद्ध छन् । यदि नेपालमा रहेका सामुदायिक, सहकारी, विभिन्न समूहसहित सबै संघ–संस्थालाई समेत राजनैतिक आखाँले हेर्ने हो भने पनि यो तथ्यांक ३८ प्रतिशतभन्दा माथि जाँदैन । अर्थात्, हामीकहाँ ६२ प्रतिशत मानिस राजनैतिक रूपमा स्वतन्त्र छन्।

यदि कुनै निर्वाचनमा ७० प्रतिशत भोट खस्छ अनि नखसेको ३० प्रतिशत सम्पूर्ण भोटलाई पनि यही ६२ प्रतिशत भित्र नै मान्दा पनि, नेपालमा ३२ प्रतिशत ‘स्विङ भोटर्स’ छन् । साथै, भर्खरै सम्पन्न स्थानीय निर्वाचनपछि हालै करिब १२ लाख नयाँ मतदाता थपिएका छन् । यदि उनीहरूलाई नयाँ पुस्ताको मतदाता मान्ने हो भने यी मतदातामध्ये अधिकांश मतदाताले कांग्रेस, एमाले अनि माओवादी लगायतका दललाई भोट हाल्दैनन् । साथै, विदेशमा रहेका ४४ लाख नेपालीले समेत नेपालमा विकास हुन नसकेको कारण बुझिसकेका छन् । तसर्थ, नेपालमा सक्षम वैकल्पिक राजनीतिका लागि सम्भावना पर्याप्त छ ।

मिलन पाण्डे

अब पार्टी तथा नेताहरू विगतमा जस्तो राजनैतिक क्रान्तिबाट आउने छैनन् । अब जसले आम नागरिकको नाडी छाम्न सक्छ, उसले नै नेतृत्व गर्छ । आम नागरिकले विकल्प खोजिरहेका छन् । विकल्प भनेको नयाँ पार्टी मात्रै होइन । नेपाली नागरिकले त वैकल्पिक राजनीति नै खोज्दैछन् जसमा निम्न तीन पक्ष छन् ः

वैकल्पिक संगठन

हरेक संगठनको एउटा उद्देश्य हुन्छ । उद्देश्य सकिएपछि कि संगठनले नयाँ उद्देश्य लिन्छ कि ती संगठनहरूको अस्तित्व सकिन्छ । नेपाली कांग्रेसको उद्देश्य प्रजातन्त्र ल्याउनु थियो । कम्युनिस्टहरूलाई गणतन्त्र ल्याउनु थियो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आयो, अनि यी दलहरूले आफ्नो लक्ष्य पनि प्राप्त गरे । तर लक्ष्य प्राप्तिपछि यी दलहरूले संगठनको नयाँ उद्देश्य भने तर्जुमा गर्न सकेनन् । तसर्थ, हाम्रो राजनीति गत एक दशकदेखि अघि बढ्न सकेको छैन । अब व्यवहारमै उत्रन सक्ने उद्देश्य बोकेको संगठन आवश्यक छ ।

वैकल्पिक नेतृत्व

अब वैकल्पिक पार्टी मात्रै होइन, वैकल्पिक नेतृत्व नै चाहिएको छ । हालकै नेतृत्वले नयाँ संगठन बनाउँदैमा आमनागरिकको वैकल्पिक शक्तिको चाह पूर्ति हुँदैन । अहिले नयाँ शक्ति असफल हुनुको कारण पनि यही हो । तसर्थ, सुसंस्कृत मूल्य–मान्यतासहितको नेतृत्व नै अबको राजनीतिको समाधान हो ।

विकासोन्मुख देशहरू गरिब नै रहनुको कारण उनीहरूसँग स्रोत–साधन नभएर होइन । स्रोत–साधनको सदुपयोग गर्न नसकेर हो । त्यसैले, अब बिकासलाई बुझेको अनि स्रोत–साधनको सदुपयोग गर्न सक्ने वैकल्पिक नेतृत्व आवश्यक छ ।

वैकल्पिक राजनैतिक संस्कार

हाम्रो समाजमा अब आन्दोलन हुँदैन, आन्दोलन चाहिँदैन भन्ने होइन । चाहिन्छ तर, बहस त्यसको रूप कस्तो हुनुपर्छ भन्ने हो । त्यही रूपान्तरण नै वैकल्पिक राजनीतिको पहिलो सर्त हुनेछ । पहिला बन्दुक बोकेर क्रान्ति गर्ने युवाहरू, अहिले कुच्चो बोकेर ‘भद्र क्रान्ति’ गर्न तम्सिएका छन् । बन्दुकको भन्दा कुचोको तागत दीर्घकालीन हुन्छ ।

अन्त्यमा,

दोस्रो संविधानसभापछि वैकल्पिक राजनीतिको राम्रो छलफल अनि अभ्याससमेत भएको छ । यही सिलसिलामा केही वैकल्पिक शक्ति पनि उदाएको छन् । जसमा अहिले सबैभन्दा सशक्त वैकल्पिक संगठनका रूपमा विवेकशील साझा पार्टी अघि आएको छ । युवाहरूको उल्लेख्य नेतृत्व अनि अनुभवी व्यक्तित्वसहितको समिश्रणका साथ अगाडि आएको यो पार्टीले अब राजनीतिमा कांग्रेस, एमाले, माओवादीको विकल्प दिन सक्नेछ ।

२०६२ सालसम्म ७० प्रतिशत मार्केट ओगटेको नोकिया मोबाइल त्यतिबेला एक नम्बरको ब्रान्ड थियो । उसलाई कसैको प्रतिस्पर्धा नै थिएन । म आफैँले पनि, म जिन्दगीमा नोकियाबाहेक अरू मोबाइल बोक्छु भनेर सोचेको थिइनँ । आइफोनसँगै, गुगलले एन्ड्रोइड सफ्टवेर बनायो अनि नोकियासँग मिलेर काम गर्न अनुरोध ग¥यो । पूरै बजार राज गरेर बसेको नोकियाले त्यो परिवर्तन अनि समयको मागलाई बुझ्न सकेन । आफूलाई अपग्रेड गर्न सकेन । फलस्वरूप, स्मार्ट फोनको आगमनसँगै नोकियाले आफ्नो अस्तित्व जोगाउन सकेन । यदि वैकल्पिक शक्तिले आम नागरिकको मुद्दालाई सम्बोधन गर्दै त्यो स्मार्ट पार्टीको भूमिका खेल्ने हो भने भोलि कांग्रेस, एमाले अनि अन्य पार्टी नोकियासरह नहोलान् भन्ने छैन । किनकि, जब आमनागरिकले विकल्प पाउँछन् तब फर्केर हेर्ने गर्दैनन् ।

सम्बन्धित सामग्री