बिहीबार, २ कार्तिक, २०७४

दुई चरणको पराजय र अबको निर्वाचन

बालकृष्ण खाण/

जनताले चुनेका जनप्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको संविधान कार्यान्वयनको चरणमा छ । संविधान निर्माण गरी जारी गर्ने विषयमा नेपालका ठूला राजनीतिक दलबीच सहमति भयो । तथापि स–साना, खासगरी मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गरिरहेका दल संविधान निर्माणको पछिल्लो प्रक्रियाबाट बाहिरिए । परिणामतः उनीहरूले संविधानसभाको दुईतिहाइभन्दा बढी मतले पारित गरी जारी गरिएको संविधानलाई सहजतापूर्वक लिएनन् । संविधानसभाबाट निर्वाचित जनप्रतिनिधिले बनाएको संविधानले जनतालाई राष्ट्रको मालिक बनाउ“छ भन्ने मान्यता विश्वेश्वरप्रसाद कोइरालाको हो । त्यही मान्यताअन्तर्गत कोइरालाले २००५ सालमै अब निर्वाचित जनप्रतिनिधिले संविधान निर्माण गर्नेछन् भन्ने उद्घोष गर्नुभएको थियो । २००७ सालमा कांग्रेसले गरेको जनक्रान्तिको मूलभूत उद्देश्य पनि संविधानसभाको निर्वाचन गरी त्यसबाट चुनिएका जनप्रतिनिधिले संविधान निर्माण गर्ने थियो ।

बालकृष्ण खाण

धेरै लामो समयदेखि यो प्रक्रिया अघि बढ्यो । तर, तराई मधेसलाई केन्द्रबिन्दु बनाएका राजनीतिक दलले यो प्रक्रियालाई सहजतापूर्वक लिएनन् । कांग्रेसले संविधान सबैको साझा स्वामित्वमा बनाउने प्रयत्न गरिरहेको थियो । मुलुक र संविधान सबैको हो, त्यसैले यसमा सबैको ‘वनरसिप’ हुनुपर्छ भन्ने प्रयत्नमा हामी लागिरह्यौ । जुन–जुन राजनीतिक शक्ति संविधानसभामा अघि बढेको संविधान निर्माण प्रक्रियामा सहमत हुन सकेका थिएनन्, उनीहरूलाई संवाद र सहमतिको माध्यमबाट साथसाथै लिएर जाने कांग्रेसको उद्देश्य थियो ।

संविधान जारी भएपछि स्थानीय तह, प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन गर्नु राज्यको दायित्व हो । निर्वाचनमा सहभागी हुनु नेपालमा बसोवास गर्ने आमनागरिकको एतिहासिक दायित्व हो । दायित्व पूरा गर्ने क्रममा तराई मधेसको केही हिस्सामा पूर्वघोषित समयमा निर्वाचन हुन सकेन । सरकारले घोषित मितिमा निर्वाचन हुन नसकेपछि जबर्जस्ती निर्वाचन गराउने कि, सुरक्षा निकाय परिचालन गरेर निर्वाचन गराउने कि, सहमति र असहमतिको मतान्तरमै निर्वाचन गराउने या मधेसकेन्द्रित राजनीतिक दल र त्यहा“ बसोवास गर्ने जनतालाई शान्तिको प्रत्याभूति दिलाएर निर्वाचन गराउने भन्ने विषयमा दलबीच लामो बहस चलायो । बहसमा कतिपय राजनीतिक दलले निर्वाचन गराउनु राज्यको दायित्व भएकाले जसरी पनि गराउनुपर्ने बताइरहे । सुरक्षा निकाय परिचालन गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाएर, बल प्रयोग गरेरै भए पनि निर्वाचन गर्नुपर्ने उनीहरूको तर्क थियो । तर, सरकार र कांग्रेस बल प्रयोग गर्ने विषयमा सहमत भएनन् । फलतः स्थानीय तहको निर्वाचन तीन चरणमा भयो । पहिलो र दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेका छन् । राजनीतिक रूपमा दुई चरणमा ६ वटा प्रदेशअन्तर्गतका स्थानीय तहमा भएका निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो ।

किन हार्‍यो कांग्रेसले ?
कुनै पनि राजनीतिक दल निर्वाचनमा सहभागी भएपछि जित वा हार स्वाभाविक हो । कांग्रेसका तर्फबाट हेर्ने हो भने निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । कांग्रेसले पार्टीको सारा शक्ति सहमतिमा निर्वाचन सम्पन्न गराउने पक्षमा लगाएको थियो । असहमत राजनीतिक दललाई मेलमिलाप र एकताको सूत्रमा आबद्ध गर्दै सहमतिमा ल्याउने, असहमति राख्दै आएका दलहरूको विचार र अडानलाई पनि सम्बोधन गर्दै मूल धारमा ल्याउनेमा हाम्रो ध्यान केन्द्रित थियो । निर्वाचनमा पार्टीको व्यवस्थापन चुस्तदुरुस्त बनाउने, जसरी पनि पार्टीका उम्मेदवारलाई जिताउने भन्दा पनि निर्वाचनमा सबै दललाई साथै लिएर जाने पार्टीको प्रयास रह्यो । फलतः कांग्रेसका लागि निर्वाचनको परिणाम त्यति सन्तोषजनक आएन । तर, यति हुँदाहुँदै पनि संविधान जारी भइसकेपछि सबैभन्दा बढी संविधानलाई स्वीकार गर्न असहज भएको भूमि प्रदेश नं. २ का स्थानीय तहमा पनि अहिले तेस्रो चरणमा २ असोजमा स्थानीय तहको निर्वाचन हुँदै छ । राष्ट्रिय राजनीतिमा शान्ति–प्रक्रिया अघि बढाउने, संविधानलाई सबैको साझा स्वामित्वमा ल्याउने र मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र स्थानीय तहलाई स्थानीय सरकारका रूपमा संस्थागत गरेर जनप्रतिनिधिको माध्यमबाटै त्यहाँका नागरिकको समस्या सम्बोधन गर्ने कांग्रेसको एजेन्डा हो । निर्वाचन अभियानलाई तीव्रता दिने क्रममा प्रदेश नं. २ का राजनीतिक दलहरू दल दर्ता गरी निर्वाचन चिह्न लिएर, उम्मेदवार खडा गराएर चुनावी अभियानमा लागिरहेका छन्, जुन मुलुक र लोकतन्त्रका लागि ठुलो उपलब्धि हो । संविधानसभाबाट जनप्रतिनिधिले संविधान निर्माण गर्नुपर्छ भन्ने पक्षमा रहेका आमनागरिकका लागि यो ठूलो उपलब्धि हो।

अखण्डताको रक्षा
कांग्रेस मुलुकको राष्ट्रिय अखण्डता रक्षा गर्न चाहन्छ । हिमालमा बस्ने आदिवासी जनजातिले उत्तरी हिमाली भूभागको अखण्डता रक्षा गरिरहेका छन् । पूर्वको मेचीमा बसोवास गर्ने नेपालीले नेपालको पूर्वी सिमानाको रक्षा गरिरहेका छन् । सुदूरपश्चिमको महाकालीमा रहने आदिवासी नेपालीले महाकालीमा रहेको जमिनको रक्षा गरिरहेका छन् । त्यस्तै दक्षिणी सीमामा रहने त्यहाँका आदिवासी मधेसी मूलका यादव, थारू, चौधरी, राजवंशी, जैसवाल, कलवार, धोबी, मुसलमान, तेली, सिंह, साह, कोहार थरका नेपालीले सो सीमा रक्षा गरिरहेका छन् । पूर्वी झापामा एउटा, मोरङ–सुनसरीमा अर्को, सप्तरीदेखि लिएर धनुषा, महोत्तरीलगायतमा छुट्टाछुट्टै संस्कृति छ । त्योभन्दा पश्चिममा भोजपुरी, अवधी, थारू, राना थारूको विविधतायुक्त संस्कृतिमा स्थापित भएको तराई मधेसका नागरिकले हाम्रो सीमाको रक्षा गरिरहेका छन् । सीमामा द्वन्द्व भएका वेलामा, तटबन्धका कारण डुबानकै कारण त्यहाँ बसोवास गर्ने नेपाली उत्पीडनमा परिरहेका छन् । तसर्थ, चाहे मधेसमा बस्ने मधेसी हुन्, चाहे हिमालमा बस्ने हिमाली हुन्, पहाडमा बस्ने पहाडी हुन्, चाहे पूर्वमा बस्ने पूर्वीया हुन् या पश्चिममा बस्ने पश्चिमेली हुन सबै नेपालीको एकताले नेपालको राष्ट्रिय अखण्डता र राष्ट्रियताको संवर्धन भएको हो । राष्ट्रियताको संवर्धनका लागि नेपालमा एकता र मेलमिलाप अनिवार्य छ । कांग्रेस राष्ट्रिय एकता र मेलमिलापको सूत्रधार पार्टी हो । तसर्थ सिंगो मुलुकको अखण्डता रक्षाका लागि, राष्ट्रियताको जगेर्नाका लागि कांग्रेस र प्रजातन्त्र चाहिन्छ ।

कांग्रेस–मधेस सम्बन्ध

कांग्रेस त्यही पार्टी हो, जसले तराई मधेसमा बसोवास गर्ने नेपालीको अधिकारका पक्षमा आवाज उठाउ“दा विभिन्न आरोप–प्रत्यारोप सहेको छ । निरंकुश राजतन्त्र मुलुकबाट अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ । गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रपति कांग्रेसकै प्रस्तावमा तराई मधेसका छोरा डा. रामवरण यादव बन्नुभएको छ । कांग्रेसले मधेस र मधेसी, दलित, आदिवासी जनजाति, महिलामाथि विश्वास गर्छ । तसर्थ, मधेसमा बसोवास गर्ने नेपाली नागरिकले राष्ट्रिय अखण्डता रक्षाका लागि मधेसलाई विश्वास गरी समाहित गरेर मुलुक जगेर्ना गर्ने, रक्षा गर्ने, शान्ति स्थापना गरी मुलुकलाई समृद्धिको दिशामा लैजाने पार्टीलाई मत दिनुहुनेछ । त्यस्तो पार्टी कांग्रेस नै भएकाले प्रदेश नं. २ अन्तर्गतका स्थानीय तह निर्वाचनमा कांग्रेसको सिटभार राम्रो बन्ने हाम्रो अपेक्षा छ । प्रतिपक्षी एमालेले एउटा पहाडको भूभागमा उभिएर मधेसले नेपालको राष्ट्रियतालाई कमजोर पार्‍यो भनिरहेको छ । विदेशीको इसारामा संविधान संशोधन गर्न थालिएको, विदेशीकै इसारामा मधेसमा विद्रोह हुन थालिरहेकाले मधेसीलाई अधिकार दिन र विश्वास गर्न सकि“दैन भन्ने धारणा एमाले शीर्ष नेताहरूले सार्वजनिक फोरममै राख्दै आएका छन् । उनीहरूले मधेसी जनतालाई लल्कारिरहेका र अपहेलित गरिरहेका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । तसर्थ, जुन पार्टीले राष्ट्रिय अखण्डताको रक्षा गर्न चाहँदैन, विद्रोह गराई मुलुकलाई खण्डित गराउन चाहन्छ, मुलुकलाई टुक्र्याउन चाहन्छ, मधेसका जनतालाई उद्वेलित र उत्तेजित गराउन चाहन्छ, त्यो पार्टीलाई मुलुकका कुनै पनि भूभागका जनताले मत दिनु भनेको राष्ट्रिय एकताको संवद्र्धनलाई कमजोर पार्नु हो भन्ने कांग्रेसको निष्कर्ष हो । मधेसका जनतालाई सम्मान गर्न, मधेसमा विकासको गतिलाई तीव्र बनाउन, मधेसका जनतालाई राष्ट्रिय मूलधारमा ल्याउन, मधेसमा सीमाको संवद्र्धन गर्न, नेपालको अखण्डताको संवद्र्धन गर्न मधेसका जनताको पनि ठूलो योगदान छ । जसलाई मुलुक र राज्यले सम्मान गर्नुपर्छ । मधेस, पहाड, हिमाल सबैको भावनालाई समाहित गरेर हाम्रो नेपाल, हामी नेपाली, समृद्ध नेपाल भन्ने कांग्रेसको सोच मधेसमा बसोवास गर्ने नेपालीले हिजो पनि बुझेका थिए, आज पनि बुझेका छन् र भोलि पनि बुझ्नेछन् । -नयाँ पत्रिकाबाट
(पूर्वमन्त्री खाण कांग्रेस केन्द्रीय सदस्य हुन्)

सम्बन्धित सामग्री