मंगलबार, ५ भदौ, २०७५

ब्लग : बाबासँग बाबुराम

सोमबार करिब एक बजेको कुरा हो । हिसिला यमिले मलाई साइबर कहाँ छ राजेश भनिन् । नजिकै चोकमा रहेको बताएँ । थोरै काम छ, साइबर जाऊँ भनिन् । हुन्छ, जाउँ न त भनेँ । हामी बाइकमा श्रीराम गेस्ट हाउसबाट सीधै लहानको रमेशचोक नजिकै विशाल होटेलसँग जोडेको महालक्ष्मी साइबरमा गयौं ।

नयाँ शक्ति पार्टी नेपालको प्रदेश नं .१ र २ को संयुक्त पार्टी प्रशिक्षण कार्यक्रम व्यवस्थापनको थोरै बोझ मलाई पनि थियो । म अत्यन्त व्यस्त पनि थिएँ । साइबरमा पुर्याएँ । उहाँ साइबरमा व्यस्त हुनु भयो । समय लाग्छ कि मेम ? व्यवस्थापनको थोरै काम पनि छ । साथीहरूले फोन गर्दैछन् भनेँ । हुन्छ थोरै टाइम लाग्छ । पुगेर छिटो आऊ भन्नु भयो ।

प्रहरी अनुसन्धानका एकजना मित्र अजय यादवलाई दिदीलाई समस्या पर्यो भने सहयोग गर्नुस है भनेँ । उहाँले हुन्छ भन्नुभयो । म त्यहाँबाट हिँडी हालेँ । केही छिनपछि म आइपुगें । हिसिला दिदीको काम सकिसकेको थियो ।

हामी त्यहाँबाट हिँड्यौं । श्रीराम गेस्टहाउस नजिक पुगिसकेका थियौँ ।

मेरो घर जानेबाटो यही हो । नजिकै छ दिदी भनेँ । ए हो र ? त्यसो भए तपाईंको घर हेर्न जाऔँ न त, पछि फुर्सद हुँदैन भन्नुभयो । त्यहाँबाट आफ्नो घर बलुवाटोलतिरतिर लाग्यौँ । घरमा एकजना श्याम भाइ र पहाड भन्ने साथी थिए । जीवनसाथी पार्वती चौधरी र दुई छोरा पढाइ व्यवस्थापनका लागि काठमाडौं हिँडिसकेका थिए । हामी भित्र छिर्र्यौं । पहाड बाबाले दुई हात जोडेर नमस्कार गरे । दिदीले पनि नमस्कार फर्काइन् । कोको छन् घरमा भनिन् । मैले परिवारिक सबै कुरा नताएँ र भने जनयुद्धको उपलब्धि मेरो यही हो भने । जनमुक्ति सेनाबाट अवकास रोजेको रकमबाट खुट्टी खोला बगरको सुकुम्बासी बस्तीमा टहरा बनाएँ र राजनीतिक गर्न एउटा बाइक किने । यसैमा जीवन निर्वाह टरेको छ । यहाँ बस्नुको पनि थुप्रै कथाव्यथाहरू छन् । मैले छोटकरीमा बताएँ ।

सुरुमा नमस्कार गरेका रातो वस्त्रधारी अनि निधारभरी चन्दनटीका लगाएका लामो कपाल र दाह्रीजुँगा भएका पहाड बाबातिर उहाँको ध्यान तानियो । अनि मलाई प्रश्न गर्नुभयो । उहाँ चाहिँ को नि ?

हिजोका पहाड कमरेड आजको पहाड बाबा हुन् भनेँ । जनमुक्ति सेनाको प्लाटुन कमान्डर, अवकासपछि अहिलेको उहाँको जीवन यस्तो छ । ब्रह्मचार्य बाबा । हिसिलाले एकछिन गम्भीर भएर उहाँसँग संवाद थाल्नुभयो ।

किन यस्तो हुन मन लाग्यो ? यस्तै हो जीवन । जनयुद्धमा जस्तो थियो आज नि त्यस्तै छ । फरक यति मात्र छ, हिजो अलि कम चुनौती थिए, आज अलि बढी थपिएको छ । पहाडबाबाले जवाफ फर्काए ।

यस क्रममा बाबाको एक्कासि गाला अवरुद्ध भयो र भक्कानिए । विगतलाई झल्झल्ती सम्झेँ र विगतका सहयात्रीहरूसँग धेरै दिनमा फरक फरक शैलीमा भेट्नपाउँदा मन भकानिए । एकछिन सुनसान भयो । हिसिला दिदीले बाबालाई सानत्वना दिँदै थिइन् । हिसिला दिदीको आँखा पनि रसाइसकेका थिए । आँशु लुकाउन माथिमाथि हेर्दै थिइन् । आँशु थाम्न सकिनन् । मेरो पनि आँखामा आँशु आइसकेका थिए । जीवनमा यस्तो कति आँशु पचाइकयो पचाइयो ।

फेरि थोरै संवाद सुरु भयो । यस क्रममा मैले यहाँ एउटा सहिद परिवारको घर पनि रहेको उनलाई बताएँ । उनले सहिद परिवारलाई भेट्न चाहना व्यक्त गरिन् । तर घरमा कोही थिएन । सबैतिर ताल्चा झुन्डिएको थियो र त्यहाँबाट हामी कार्यक्रम स्थल गोपाल सेवासदनतिर गयौँ । खाना खाएर कार्यक्रममा सहभागी पनि भयौं ।

भोलिपल्ट डा. भट्टराईको आगमन
लामो समयदेखि डा. बाबुराम भट्टराई सँगै बस्दै आएका उनका विश्वासिला साथी सनिप क्षेत्रीले भोलि बिहानको नास्ता खान आउने कुार बताएका थिए । सुख्खा रोटी, आलुको सादा भुजिया खाजाका रुपमा थियो । त्यसपछि औषधि खाएर कार्यक्रम स्थलतिर लाग्ने कुरा थियो । मैले हुन्छ भनेका थिएँ । सहमती अनुसार सनिपले ठीक ५ बजे मलाई फोन गरे । म उठेर नित्यकर्म सकेँ र आवश्यक तयारीमा लागँे । मेरा लागि सुखारोटी र खबुज नौलौ कुरा थिएन । यो खाजा बिरामी भएपछि डाक्टरसाहेबका लागि पनि नौलो थिएन । केही समयमै कार्यकर्ताका साथ गाडी आइपुग्यो । स्वागत सत्कारको कार्यक्रम भयो । समयको चाप भए पनि २०, ३० मिनेटमा सबै कार्य सम्पन्न भइसकेको थियो ।

गाडीबाट ओर्लिने क्रममा मिडियामा भाइरल भएका पहाड बाबाले दुवै हात जोडेर नमस्कार गरे । डाक्टरसाहेवले पनि नमस्कार फर्काए । हिसिलाले नै पहाडबाबालाई नजिकै रहेको कुर्सीमा बस्न आग्रह गरिन् । बाबाले बाबुरामतिर फर्केर फेरि नमस्कार गरे । बाबुरामले पनि नमस्कार फर्काए । पहाडबाबाको बारेमा हिसिलाले सबै कुरा बताइन् । पहाड बाबासँग विगत र वर्तमान घटनाका कुरा चल्न थाले । बाबुराम छक्कपरे । किन यस्तो हुनुभयो ? बाबुरामले प्रश्न गरे । मेरो जीवन यस्तै हो भने । विगत बिर्सेर, वर्तमान धार्मिक काममा लागेको छु । पहिलाको जीवन र अहिलेको जीवन मेरा लागि उस्तै छ । पहाड बाबाले निकै मार्मिक कुरा गरे । डाक्टरसाहेवलाई तिनै मार्मिक भनाइले स्तब्ध बनायो ।

भट्टराई सामु पहाड बाबाले यस्ता थुप्रै विगत र वर्तमानका मार्मिक कुराहरू सुनाए । उनले भने अब मेरा लागि यही जीवन सुन्दर छ तर साथ तपाईंलाई नै छ । सबै बेइमान भए । सहिदको सपना र हाम्रो विपनामाथि विरोधीहरूले रजाइँ गरिरहेका छन् । त्यो कुरा यिनै आँखाले हेर्न विवश छु । म कहाँ बस्छु ? के गर्छु ? आफैलाई थाहा छैन । राजेश मेरो युद्धभूमिको साथी मात्र नभएर अहिलेको पनि साथी हुन् । वर्गसङ्घर्षमा भेटिएको एक कुशल कमान्डर मात्र होइन राजेश । मेरो हरेक कठिनाइमा साथ दिने पात्र पनि हो । मर्नेबेला सायद अरूले नदेखे पनि उनले मलाई देख्नेछन् । यस्ता थुप्रै अन्तरङ्ग भए । अन्त्यमा डाक्टरसाहेवले राजेशजीकै सम्पर्कमा बस्नु सुरक्षित हुन्छ भनेपछि पहाडबाबा खुशी भए ।

हिँड्नेबेला नमस्कार गर्दै पहाडबाबाले बाबुरामलाई बिदाइ गरे र उनले सत्यको जित हुन्छ । असत्य थोरै दिन मात्र टिक्छ भने ।

बिदाइपछि जम्मा भएका स्थानीयलाई पहाडबाबाले विगत चर्चामा रहेका गीत सुनाए ।

बन परतै बन परतै बन परतै यौ ।

सैबके एक दिन माओवादी बन परतै यौ..

जनमुक्ति सेनामा हुँदाको अर्को चर्चित मैथली गीत पनि गाए

जनताके जनमुक्ति सेना ।

लडैले तुफान भैया सुन तनि व्यान…

उनी सामना सांकृतिक टोलीमा पनि साङ्गीतिक काम गरेका थिए । त्यसैले उनी अहिले बाबा भए पनि युद्धभूमिका गीतहरू बिर्सेका छैनन् ।

सम्बन्धित सामग्री