मंगलबार, ५ भदौ, २०७५

राजदुतहरुको उपस्थितीमा नेपालमा पनि दलाई लामाको जन्मदिन मनाइयो

काठमाडौं– निर्वाचित तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिन उनका समर्थकहरुले नेपालमा पनि मनाएका छन्। जावलाखेलस्थित तिब्बती शरणार्थीहरुको क्याम्पमा बिहीबार जन्मदिन मनाइएको हो।

कार्यक्रममा अमेरिका लगायत विभिन्न यूरोपियन देशका राजदुतहरु अतिथी बनेर गएका थिए। दलाई लामाको जन्मदिन मनाउने नाममा चीन विरोधी गतिविधि हुनसक्ने आशंकामा प्रहरीले चिनियाँ दुतावाससहित तिब्बती शरणार्थीहरु बस्ने स्थानहरुमा निगरानी बढाएको थियो।

बुधबार मात्र काठमाडौंस्थित शरणार्थीसम्बन्धि राष्ट्रसंघीय कार्यालय (यूएनएचआरसी)की नेपाल प्रतिनिधि लगायत विभिन्न देशका राजदुतहरुले तिब्बती शरणार्थीहरुको गतिविधिमा नियन्त्रण गरिएको भन्दै चासो व्यक्त गरेका थिए। दलाई लामाको जन्मदिन मनाउन समेत नदिए यो विषयलाई मानवअधिकारसँग जोडेर अन्तराष्ट्रियकरण गर्ने चेतावनीपछि कार्यक्रममा प्रहरीले हस्तक्षेप नगरेको स्रोत बताउँछ।

चीनले आफ्नो देशविरोधी गतिविधि रोक्न नेपाल सरकारसँग पटक पटक आग्रह गर्दै आएको छ। नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई केही पश्चिमी देशहरुले उनीहरुको मानवअधिकारसँग जोडेर अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका छन्।

नेपालमा करिब २० हजार तिब्बती शरणार्थीहरु छन्। उनीहरुले भारतको धर्मशालामा रहेका दलाई लामालाई आफ्नो धार्मिक नेता मान्दछन्। उनीहरुले फ्रि तिब्बतको अभियान चलाउँदै आएका छन्। तर, पछिल्ला वर्ष उनीहरुको अभियान सुस्ताएको छ।

सम्बन्धित सामग्री