मंगलबार, २६ कार्तिक, २०७६

म २९ वर्षअघि ट्राफिक हुँदा ड्रममा उभिएर हात हल्लाउँथें, अहिले पनि त्यस्तै छ

हाम्रो ट्राफिक व्यवस्थापन ‘ढुंगेयुग’ मा छ। धेरै समय भयो, काठमाडौं उपत्यकामा सवारी जाम नियन्त्रण र ट्राफिक सहायताका लागि राखिएका ट्राफिक बत्तीले काम गरेको छैन। यसले सर्वसाधारण मात्र होइन, ट्राफिक प्रहरीसमेत हैरान छन्।

धुलो, धुँवा, हुरी, झरी जस्तो अवस्थामा पनि बीच सडकमा ठिंग उभिएर लगातार हात हल्लाएर सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरू बाध्य छन्।  मानौं उनीहरू सडक बीचमा उभिएर व्यायाम गरिरहेका छन्। नेपाल छिर्ने विदेशीलाई यस्तो दृश्य देख्दा अचम्म लाग्न सक्छ।

मैले २०४७ सालमा ट्राफिक प्रहरीको जागिर सुरू गर्दा ड्रममा बसेर हात हल्लाउँथेँ। आज २९ वर्षपछि अवकाश पाइसक्दा पनि अवस्था त्यस्तै छ। यसबाटै थाहा हुन्छ, हामी कति विकसित भएछौं।

नेपालमा २०२३ सालबाट ट्राफिक लाइट सुरू भएको हो। सबैभन्दा पहिले सुन्धारा, न्यूरोड गेट, नारायणहिटी संग्रहालय दक्षिण गेट र सिंहदरबारमा पहिलोपटक ट्राफिक लाइट राखिएको थियो।

त्यसको ३४ वर्षपछि २०५७ सालमा थापाथली चोकमा ट्राफिक लाइट राखियो। त्यसपछि १० ठाउँमा कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, केशरमहल, कालिमाटी र कलंकीमा राखिए। चाबहिल, गौशाला र दरबारमार्गको दक्षिण गेटमा जापान सरकारको सहयोगमा बत्ती राखियो। तीनकुने-सूर्यविनायक सडक तयार भएपछि सूर्यविनायक, सल्लाघारी, ठिमी, गठ्ठाघर र कौशलटारमा जापान सरकारले नै ट्राफिक लाइट राख्यो।

पछिल्लोपटक गत वर्ष चैतमा तत्कालीन ट्राफिक प्रमुख सर्वेन्द्र खनालले लामो समयदेखि बन्द ट्राफिक लाइट उद्घाटन गरे। १५ लाख लागतमा नयाँबानेश्वर र २५ लाख लागतमा नारायण गोपाल चोकमा ट्राफिक लाइट बल्न थाल्यो। बाँकी अझै बलेका छैनन्। सहरभरी ठड्याइएका यी बत्तीमा करोडौं करोड लगानी स्वाहा भइरहँदा पनि किञ्चित वास्ता नगर्ने प्रवृत्तिले नेपालका नीतिनिर्माता र प्रशासकहरूलाई गिज्याइरहेको भान हुन्छ।

अब ट्राफिक बत्ती राख्नुपर्ने ठाउँ

पछिल्लो समयको सवारी चाप हेर्दा ललितपुरको ग्वार्को, सातदोबाटो, एकान्तकुना, महालक्ष्मीस्थान, जावलाखेल, पुलचोक र कुपण्डोलमा नयाँ ट्राफिक लाइट राख्नुपर्ने देखिन्छ।

काठमाडौंको बल्खु, टेकु, त्रिपुरेश्वर, कलंकी, सुन्धारा, जमल, लैनचौर, सोह्रखुट्टे, बालाजु, गोंगबु, सामाखुसी, हलचोक, सीतापाइला, गैह्रीधारा, जयनेपाल, नक्साल भगवतीमन्दिर, भाटभटेनी कृष्ण पाउरोटी, महाराजगंज, मीनभवन, एयरपोर्ट, गैह्रीगाँउ (तीनकुने), पुरानो बानेश्वर, जयबागेश्वरी, धुम्बाराही, चुच्चेपाटी, गौशाला, चाबहिल, पेप्सीकोला, सिनामंगलमा पनि ट्राफिक लाइटको खाँचो छ।

कस्तो प्रविधि भित्र्याउने?

एक दशकअघि जापानले बनाइदिएको पुरानो प्रविधि अब सान्दर्भिक छैन। यसलाई हटाएर नयाँ र अत्याधुनिक प्रविधि जडान गर्नुपर्छ। अब राख्दा सवारी गति नाप्ने, चालकको फोटो खिच्ने, नम्बर प्लेट आउने गरी गाडीको फोटो खिच्ने, कति सवारी पास भए गन्ती गर्ने, ट्राफिक निमयविपरीत चलाउनेको तत्काल कन्ट्रोल रूममा फोटो र भिडियोसहित पठाउने प्रविधिको खाँचो छ।

पहिले राखिएको बत्तीको तुलनामा अहिले राख्नुपर्ने बत्तीमा त्यति धेरै खर्च नहुने भएकाले हामीले समयानुकूल ट्राफिक बत्ती विकास गर्दै जानुपर्छ। विदेशीको मुख ताक्नुभन्दा मुख्य चोकमा नजिकका ठूल्ठूला कर्पोरेट संघ-संस्था, बैंक तथा व्यापारीलाई उनीहरूकै नाममा ट्राफिक लाइट बनाउन सहयोग माग्न सकिन्छ। यसरी गर्ने हो भने दुई महिनामा सबै चोकमा लाइट राख्न सकिन्छ।

सडक विभागले ट्राफिक लाइट राख्ने जिम्मा महानगरपालिकालाई दिएको छ। जिम्मा लिएर मात्र हुँदैन सम्बन्धित विषयमा विज्ञ पनि हुनुपर्छ। हाम्रो देशमा ट्राफिक लाइटसम्बन्धी विज्ञको कमी छ। सम्बन्धित निकायले विदेशमा प्रशिक्षणका लागि पठाएर भए पनि दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ। यसले विदेशीले बनाइदिएको सामान बिग्रिएजस्तो हविगत फेरि दोहोरिन्न।

दातृ निकायले दिएको जस्तोसुकै प्रविधि जडान गर्दा पछि बत्ती बिग्रेर अलपत्र परेका छन्। मर्मतमा समेत समय लाग्ने गरेको छ। हामी आफैंले आफ्नै तरिकाबाट जडान गर्यौं भने समय र पैसा बचत हुन्छ।

किन चाहिन्छ ट्राफिक बत्ती?

सडकमा ट्राफिक लाइट नराखी प्रहरीको हातबाट ट्राफिक नियन्त्रण गर्नु भनेको लोडसेडिङ मुक्त भएपछि पनि घरमा टुकी बालेर उज्यालो बनाउनु जस्तै हो।

व्यस्त सडकबीचमा दुर्घटना हुनेगरी ट्राफिक प्रहरी बस्न आइल्याण्ड राखिएको छ। यस्तो गर्नु हुन्न। अन्य देशमा ट्राफिक प्रहरी पनि सुरक्षित हुने र सवारी दुर्घटना पनि नहुने गरी छेउमा आइल्याण्ड राखिएको हुन्छ। हाम्रो देशमा भने विपरीत छ।

ट्राफिक प्रहरी बस्ने आइल्याण्डमा ठूल्ठूला विज्ञापन राखिएका छन्। त्यसमा त ट्राफिक सचेतनाका नारा पनि लेखिनुपर्छ। आइल्याण्ड बनाउन सहयोग गरेको संस्थाको विज्ञापन राख्नैपर्ने भए सडकपेटीमा छुट्टै राख्दा राम्रो।

त्यसरी आइल्याण्ड बनाउने संस्थालाई नै ट्राफिक लाइट राख्ने जिम्मेवारी दिए हुन्छ। बरू उसको विज्ञापन सानो अक्षरमा छेउमा राख्न सकिन्छ।

ट्राफिक प्रहरीलाई जो कोही पनि भिभिआइपीले आफ्नो सवारी अगाडि बढाउँदै पास गर्न आदेश दिन्छन्। पास भएन भने ट्राफिक प्रहरीले राम्रो काम गरेन भन्छन्। तर, ट्राफिक लाइटले सडक प्रयोग गर्ने सबैलाई समान व्यवहार गर्नुपर्छ। सबैलाई सडक अनुशासन पालना गर्न सिकाउनुपर्छ।

अहिले पनि ट्राफिक प्रहरीले चोक-चोकमा ड्रममा बसेर ट्राफिक नियन्त्रण गरिरहेको हुन्छ। यसबाट दुर्घटनाको सम्भावना बढी छ। चालक तथा अन्य सडक प्रयोगकर्ताले सडकको बीचमा उभिएको ट्राफिक प्रहरीलाई नदेख्न सक्छ र दुर्घटना हुनसक्छ।

हातमा ‘गो’ र ‘स्टप’ को पम्प्लेट बोकेर ट्राफिक प्रहरीले सडक व्यवस्थापन गरिरहेको पनि देखिन्छ। यो त्यति प्रभावकारी होइन। बत्ती भयो भने सबैले सहजै देख्न सक्छन्। सडक पार गर्न र सवारी अघि बढाउन ट्राफिक प्रहरीको हात खोज्नुपर्छ। रात पर्दै गएपछि त्यो पनि हराउँछ। पानी परेको बेला त कुरै नगरौं।

यसरी ट्राफिक प्रहरीको इसाराका लागि हात नदेख्दा र नबुझ्दा सवारी दुर्घटना हुनुका साथै ट्राफिक प्रहरीसँग वादविवाद र कहिलेकाहीँ त हात हालाहालसमेत भइरहेको छ। हातको इसारा बढीमा सात फिटसम्म देखिन्छ। कतिपय अवस्थामा ठूला गाडीले छेक्ने भएकाले सवारी दुर्घटना हुनसक्छ।

ट्राफिक लाइट राखे टाढैबाट बत्ती देख्ने भएकाले चालकले संयमित भएर चलाउन सक्छ। स-साना नानीबाबुदेखि बूढाबूढीले पनि सहजै बाटो काट्न सक्छन्।

कति सवारी गुड्छन्?

देशभरि २०७४/७५ सम्म ३२ लाख २१ हजार ४२ सवारी साधन सञ्चालनमा छन्। तीमध्ये बागमतीमा ११ लाख ७२ हजार ४१३ सवारी दर्ता भएका छन्। यसमध्ये ९७ प्रतिशत निजी गाडी दर्ता छन्।

९ लाख  २१ हजार मोटर साइकल दर्ता हुँदा १ लाख ४२ हजार ३ सय ३१ कार, ४८ हजार २ सय ४२ बस, १३ हजार ५ सय ५३ डोजर/पावर ट्रेलर र ६ हजार ३ सय ९० माइक्रोबस दर्ता भएका छन्।

काठमाडौं उपत्यकामा २ हजार १४ किलोमिटर सडक छ। जसमध्ये एकलेनको सडक ६६० किमी, दुईलेनको २३९ किमी, चारलेनको सडक १९३ किमी छ।

सवारी संख्या र सडकको स्थिति हेर्दा एक जना ट्राफिक प्रहरीको भागमा औसत ८१४ वटा गाडी हेर्नुपर्ने हुन्छ। उसले १.५ किमी सडकको जिम्मा लिनुपर्ने हुन्छ।

ट्राफिक बत्ती जडान गरिसकेपछि १३ सय जना ट्राफिक खर्च भइरहेको स्थानमा ५०० जनाले काम हुन्छ। बाँकी जनशक्तिले अन्य काम गर्न पाउँछन्। बाटो काट्ने पैदल यात्रुलाई रोक्न जाने र सवारी आवागमन कसरी थप सहज बनाउने भन्ने सोच्न सक्छन्।

कसरी राख्ने?

हामीले एक-दुइटा चोकमा ट्राफिक लाइट राखेर हुँदैन। झन् भद्रगोल हुन्छ। एकैचोटि हरियो बत्ती बल्दा ११० वटा मोटरसाइकल र ६१ वटा गाडी पास हुन्छन्। बत्ती नभएको ठाउँबाट ११५ वटा जति गाडी र ४२५ वटा मोटरसाइकल एकैपटक आउँछन्।

ट्राफिक लाइटमा जडान गरिएको कम्प्युटर सिस्टमबाट ६१ वटा गाडी र ११० वटा मात्र मोटरसाइकल पास हुन्छ। बाँकी रहेका ५४ वटा गाडी र ३१५ वटा मोटरसाइकलले लामो जाम हुन्छ।

त्यसैले सबै चोकमा ट्राफिक लाइट राख्यो भने सबै ठाउँबाट त्यति नै संख्यामा गाडी पास हुन्छन्। कुनै जाम हुन पाउँदैन।

उदाहरणका लागि, केशरमहलमा मात्र ट्राफिक बत्ती बल्यो भने त्यहाँको एकपटकको क्षमता भनेको ६१ वटा गाडी र ११० वटा मोटरसाइकल पार गराउनु हो। त्रिपुरेश्वर, सुन्धारा, न्यूरोडगेट र रत्नपार्कबाट एकैचोटि सवारी थुप्रिन आए केशरमहल चोकको बत्तीले थाम्न सक्दैन। सोह्रखुट्टे र महाराजगन्जदेखि केशरमहलतिर आउने सवारी संख्या पनि उस्तै हुन्छ।

त्रिपुरेश्वर, सुन्धारा, न्यूरोडगेट तथा जमलमा बत्ती राखे त्यहाँबाट सीमित संख्यामा गाडी पास हुन्छन्। केशरमहल पुग्दा सीमित संख्याको गाडी सहजै पार हुन्छ। सवारी जाम हुन्न।

यति धेरै गाडी चल्ने ठाउँमा ट्राफिक लाइट किन नराखेको भनेर विदेशी पाहुनाहरूले ट्राफिक प्रहरीलाई सोध्ने गर्छन्। यसको जवाफ ट्राफिक प्रहरीले कसरी दिने?

हाम्रो पहिलो अनुशासन सिकाउने ठाउँ नै सडक हो। सडकमा अनुशासन पालना गर्‍यौं भने मात्र हामी सुरक्षित गन्तव्यमा पुग्न सक्छौं।

पैदय यात्रुले पनि सडकमा जोखिम मोलेरै बाटो काट्नुपर्छ। ट्राफिक प्रहरीले पनि ट्राफिक लाइट नभएपछि जता लामो जाम भयो, त्यतैको गाडी पास गराउँदा अन्य बाटोबाट आउने सवारीले धेरै समय कुर्नुपर्ने हुन्छ। ट्राफिक लाइट भए सबैतिरबाट आउने सवारीले समान समय पाउँछन्। धेरै समय सडकमा कुर्नु पर्दैन। बाटो काट्ने यात्रुले पनि अहिलेजस्तो १०/१५ मिनेट कुर्नुपर्दैन। पालो आइहाल्छ।

ट्राफिक लाइट भयो भने हामीकहाँ चल्दै आएको ‘ट्राफिक जाममा परियो’ भन्ने थेगोको अन्त्य हुन्छ। दिनभरी उभिएर घाम, पानी, धुलो, धुवाँ केही नभनी सवारी पास गराउन ट्राफिक प्रहरीलाई पक्कै सहज छैन।

हुरीबतास र पानी परेका बेला चिसोमा काप्दै ड्यूटी गरिरहेका ट्राफिक प्रहरीलाई हेर्नुहोस्। अरू देशमा नयाँ प्रविधि विकास हुँदै जान्छ, तर हाम्रो देशमा भएका प्रविधि पनि अव्यवस्थित भएर खेर जान्छन्।

हामी कहिलेसम्म यस्तै अवस्थामा रहने? -सेतोपाटीबाट

सम्बन्धित सामग्री