मंगलबार, २६ कार्तिक, २०७६

आर्मीलाई हराउँदै मेची नेत्रालय, झापा माईभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम – मेची नेत्रालय झापा, इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो संस्करणको विजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र अतिरिक्त समयमा समेत १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरबाट विजेता निर्धारण गरिएको थियो ।

टाइब्रेकरमा झापाका विक्रम लिम्बू, योगेङ गुरुङ, विशाल राई र मिलन राईले गोल गरे भने भिक्टरको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाउ गरेका थिए ।

आर्मीका तर्फबाट भने विकास तामाङ, रुपेश क्षेत्री र दीपकुमार लामाले गोल गरे । विवेक बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए भने युद्ध शाहीको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दी म्याच घोषित विजेता झापाका दिनेश थापा मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
सुरुवाती लिएको अग्रता आर्मीले खेल अवधिभर टिकाउन नसक्दा हार ब्यहोर्नु परेको थियो । आर्मीले दिपेन्द्र कार्कीको गोलबाट दोस्रो हाफको ५७ औं मिनेटमा अग्रता लिएको थियो ।

८५ औं मिनेटमा झापाका विकास राईले हेडरमार्फत गोल गरी खेल बराबरीमा ल्याए । त्यसपछिको समय र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकरमा विजेता निर्धारण गरेको थियो ।

शनिबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र विदेशी टिम क्यामरुनको दाउफिन्स क्लब आमनेसामने हुँदैछन् ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ  । माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सम्बन्धित सामग्री