मंगलबार, २६ कार्तिक, २०७६

सोमबारदेखि देशैभरी सुपथ मूल्य पसल सञ्चालन, केमा कति छुट ?

सुस्मिता बजगाईं काठमाडौँ । सोमबारदेखि देशैभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान् चाड वडा दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग र दुग्ध विकास संस्थानले उपत्यकासहित देशका विभिन्न स्थानमा ७३ वटा सुपथ पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

नेपाल खाद्य संस्थान उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल हुनेछन् । त्यस्तै, साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२ र दुग्ध संस्थानले उपत्यकाका ४ स्थानसहित उपत्यका बाहिरका ११ स्थानमा सुपथ मूल्यका पसलहरु खोल्न लागेको खाद्य संस्थानका महाप्रवन्ध योगेन्द्र गौचनले रातोपाटीलाई जानकारी दिए ।

ठूला चाडहरु दशैँ, तिहार र छठलाई नै मध्यनजर गर्दै बजारमा हुने चरम महङ्गी अभाव र व्यथितिलाई व्यवस्थापन गर्दै सर्वसाधारणमा सहज सुलभ र गुणस्तरिय खाद्यान्न प्रदान गर्ने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालन ल्याउन लागिएको महाप्रवन्धक गौचनले बताए ।

‘सुपथ मूल्यका पसलमा सामान्य दाल चामलदेखि खसीबोका सम्म उपलब्ध गराइने छ । गौचनले भने, ‘सहज, सुलभ र गुणस्तरिय वस्तु उपभोक्तामा पु¥याउने हाम्रो लक्ष्य हो । हामीले पसल सञ्चालनको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । तर मन्त्री उपत्यका बाहिर हुनुभएकाले उद्घाटनको समय तय गर्न सकिएको छैन । सम्भवत भोलि देखिनै सुपथ पसल सञ्चालनमा आउने छ ।’

गौचनका अनुसार सुपथ मूल्यका पसलहरुबाट सामान किन्दा उपभोक्ताहरुले वस्तु हेरी बाहिरी बजार भाउभन्दा २ देखि १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

सम्बन्धित सामग्री