उद्योग वाणिज्य महासंघको साउन अन्तिम साता चुनाव

epkuser अर्थ , ताजा समाचार , June 22nd, 2020

८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउन मसान्तमा गर्ने निर्णय भएको छ । सोमबार बसेको महासंघ केन्द्रीय समिति बैठकले साउन अन्तिम साता चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो । पदाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गरेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड १९ को महामारीका कारण मिति सारिएको थियो । जेठमा गर्ने भनिएको साधारणमा जेठमा पनि सम्भव भएन । त्यसपछि भएको तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदहरुका लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।