एक मामुली प्रश्न- बैंकका कर्मचारीलाई कोरोना लाग्यो भने ?

जानकी न्यौपाने

कुनै पनि बैंक तथा वित्तीय संस्थामा सामान्य अवस्थामा वढी कारोवार हुने एउटा शाखामा प्रति दिन कम्तिमा पनि पाँच सय भन्दा बढी ग्राहकको भिडलाई व्यावस्थापन गर्दै र सेवा दिदै आइरहेकोमा आजभोली कम संख्यामा उपस्थित ग्राहकलाई पनि व्यावस्थित बनाई सुरक्षित सेवा दिने कार्य निकै चुनौतीपूर्ण छ ।

चीनको वुहान शहरमा टुसाएको कोरोना भाइरस (कोभिड–१९)ले हाल विश्वका करिब २१० देशमा जरा गाडिसकेको कुरा सवै लाई विदितै छ ।

नेपालमा आज भन्दा करिब २ महिना अघि एक जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसको लगभग एक महिना पछि चैत्र १० गते अर्को एक जना कोरोना संक्रमित फेला परे लगत्तै नेपाल सरकारले चैत्र ११ गते बाट देशभर घोषणा गरेको लकडाउन अहिले पनि जारी छ ।

यसका बिचमा अत्यावश्यक सेवा भित्र पर्ने बैंक तथा वित्तीय संस्था भने आंशिक रुपमा संचालनमानै रहेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पौष मसान्त सम्मको तथ्यांक हेर्दा करिब ६८ हजार कर्मचारी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् ।

जसमध्ये लगभग ४० प्रतिशत कर्मचारी ग्राहकको सिधै सम्पर्क तथा फ्रन्ट डेस्कमा रहने गरि काम गरिरहेका छन् भने, ६० प्रतिशत ब्याक डेस्कमा काम गरिरहेका छन् ।

वित्तिय क्षेत्रका पहरेदारको रुपमा काम गरिरहेका फ्रन्ट डेस्कमा बसेर काम गर्ने तल्लो तहका कर्मचारीहरुलाई कार्यभारको बोझ, महामारीको कारण मानसिक तनाव, ग्राहकसँगको प्रत्यक्ष तथा नियमित सम्पर्क र नोटको भौतिक कारोबारोसँग नजिकको सम्बन्धका कारण कर्मचारीमा संक्रमणको जोखिम थपिएको छ ।

जानकी न्यौपाने

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार कुनै पनि स्थानमा २५ जनाभन्दा बढी एकै ठाँउमा जम्मा हुन नपाइने, सामाजिक दुरी कायम गर्नुपर्ने विगतको निर्देशन भएता पनि हाल २ जना भन्दा वढि एकै ठाउमा भेलाहुनु घातक मानिन्छ ।

साथै उच्च सतर्कता साथ सेवा प्रवाह गर्नुपर्ने भनिएता पनि बैंकिङ्ग क्षेत्रको उच्च व्यावस्थापनले गरेका निर्णय अनुसार समय तालिका बनाई निश्चित शाखा सिमित समयका लागी खोल्नुपर्ने भएकोले बैंकमा झन् भिडभाड हुने र व्यावस्थापन गर्नमा समस्या भएको कुरा सर्वविदितै छ ।

शाखाहरुमा कामगर्ने कर्मचारीको लागी सामान्य सर्जिकल मास्क, पन्जा, सेनिटाईजर र साबुन पानी लगायतका न्यूनतम सुरक्षाका सामाग्रीको प्रयाप्त व्यवस्था विना कर्मचारीले काम गर्नु परिरहेको आफैंमा चुनौतीपुर्ण छ ।

उच्च व्यवस्थापनलाई निर्देशन र नीति वनाउन सहज भएता पनि फ्रन्ट डेस्कमाकार्य गर्ने कर्मचारीलाई कठिन महशुस हुनु स्वाभाविक हो ।

एक तथ्यांक अनुसार नेपालमा प्रविधियुक्त आधुनिक बैंकिङ्गले भर्खर बामे सर्दै गरेको अवस्थामा करिब १५ प्रतिशत जति सेवाग्राहीले मात्र अनलाईन कारोबारमा निपुण देखिन्छन् भने बाँकी ८५ प्रतिशत सेवाग्राहीहरु भौतिक रुपमै बैंकमा उपस्थित भई बैंकीङ्ग चेक द्धारा कारोबार गर्ने गर्दछन् ।

भुक्तानी प्रणाली सहज र सुरक्षित बनाउनका लागी मोबाइल बैंकिङ, अनलाईन बैंकिङ जस्ता प्राणलीहरुलाई प्राथमितकामा राखिएको भएतापनी धेरै जसो ग्राहक वर्गमा प्रविधि सम्बन्धि ज्ञानको कमी र प्रयोग गर्नै झन्झट मान्ने प्रवृति एकातर्फ छ भने अर्को तर्फ एटिएम मसिनमा स्यानी टाइजर र सावुनपानीको प्रयाप्त व्यवस्थाको अभावले गर्दा क्यासलेस बैंकिङले गति लिनन सकेको अवस्था छ ।

नेपाल राष्ट्रबैंकको निर्देशनमा सबै बैंकहरुले यो संकटको समय सम्म ए.टी.एम.सेवालाई निशुल्क र प्राथमितकामा राखिएको भएतापनी कतिपय बैंकका ए.टी.एम. मेशिनहरु नै चल्दैनन् भने कतिपय ए.टी.एम. बाट पैसा काट्ने तर पैसा नदिने र तत्काल रिफन्ड हुने व्यावस्था नहुदा ग्राहकहरुले चेक मार्फतनै नगदको कारोबार सहजलाग्ने गुनासो समेतव्यक्त गरेको पाईन्छ ।

यतिभन्दै गर्दा जहां उच्चजोखिम छ सोही ठाउँमा उच्च नाफापनि हुन्छ भन्ने नाराले पनि अन्य कारोवारको शिथिलताको कारण त्यति सार्थकता पाएको देखिदैन ।

शाखामा जोखिममा रहेर कामगर्ने कर्मचारी र केन्द्रिय कार्यालय एवम् क्षेत्रिय कार्यालयको एउटा सुरक्षित कक्षमा बसेर काम गर्ने कर्मचारीहरुमा उच्चजोखिमको भिन्नता छ तर सुविधा र आत्मसुरक्षाको व्यावस्थामा भने भिन्नता देखिएन ।

यसको तात्पर्य अग्रभागमा रहेर बैंकको मुख्यपील्लरको रुपमाकाम गरिरहेका कर्मचारीहरुको लागी सुरक्षाचुनौति धेरै छ तसर्थ व्यवस्थापनले जोखिमको आधारमा कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गर्न ढिला भै सकेको छ ।

यस समस्याले निकट भविष्यमा बैंकीङ क्षेत्रका कर्मचारीहरुमा असन्तुष्टि, कमजोर मनोबल, डिप्रेशन र जब टर्नओभर जस्ता नियन्त्रण वाहिरका समस्याहरु उत्पन्नहुन सक्ने संभावना नहोला भन्न सकिदैन ।

यद्यपि यो एउटा प्राकृतिक विपत्ति हो यसलाई सामनागर्न र यो विपत्तिमा व्यावसायीक धर्मलाई निरन्तरता दिदै उच्च व्यवस्थापनले प्रत्येक शाखा कार्यालयको भौतिक अवस्था, ग्राहकको उपस्थिति दर, आधारभूत सुरक्षा सामग्रीको व्यावस्थापन, कर्मचारीको जब रोटेशन र कर्मचारीहरुको निरन्तर स्वास्थ्य चेकजाँचको उचित प्रबन्ध सहितको रणनितिक योजनाबनाई कर्मचारीहरुमा थप उत्साह, उत्प्रेरणा, आत्मियता र उच्चमनोबलका साथ सेवादिन सक्ने गरी उचित कार्य वातावरणको अवस्था सिर्जना गर्न सम्बन्धित पक्षले तत्काल ध्यान दिन आवश्यक छ ।
लेखक न्यौपाने राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत छिन् ।

४ वैशाख २०७७, बिहीवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु